सरकारको नेतृत्वका विषयमा तीव्र विवाद

  • 19 जुलाई 2010
झलनाथ खनाल
Image caption एमाले अध्यक्षलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने विषय विवादको घेरामा परेको छ

एकीकृत नेकपा माओवादीले आफूले सरकारको नेतृत्व पाउने स्थिति नआए नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई सघाउने भन्ने विषयमा विवाद देखा परेको छ।

एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलको नेतृत्वमा नयाँ सरकार बनाउने कसरत सफल नभए खनाललाई समर्थन गरेर अघि बढ्ने सोच बनेको बताए।

तर अर्का उपाध्यक्ष बाबुराम भट्टराईले आफ्नो दलको नेतृत्वको सरकार नै आफुहरुको पहिलो प्राथमिकता रहेको बताए।

संसदमा नयाँ प्रधानमन्त्रीको चुनाव हुन दुई दिन बाँकी छँदा सोमबार अवेरसम्म राजनीतिक दलहरुको दौडधुप र छटपटी पनि बढेको देखियो।

विकल्प

सबै भन्दा ठूलो दल एकीकृत माओवादीको पदाधिकारी वैठकपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले आफ्नो दलको नेतृत्वमा सरकार बन्ने स्थिति नआए एमाले अध्यक्ष झलनाथ खनाललाई समर्थन गरेर अघि बढ्ने विकल्पबारे कुरा भएको बताए।

“हामीले नै नेतृत्व गर्ने हो तर सम्भव भएन भने एमाले अध्यक्षको नेतृत्वमा सबै अग्रगामी शक्तीहरु मिलेर अघि बढ्ने हाम्रो सोच छ।”

तर साँझपख नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेको समर्थन बटुल्न भक्तपुर पुगेका अर्का उपाध्यक्ष बाबुराम भट्टराईले किटेरै खनालको नाम भने लिएनन्।

उनले आफ्नो नेतृत्व सम्भव नभए नजिकको प्रगतिशील गठबन्धनलाई सघाउन सकिने बताए।

विवाद

समर्थन माग्दै एकीकृत माओवादीका नेताहरुले अन्य साना वाम दलका नेताहरुलाई भेटेका थिए।

आफ्नो दलभित्रै बाट अध्यक्ष प्रचण्डको विकल्प खोज्न दबाब बढिरहेको बेला माओवादी नेता प्रकाशको पछिल्लो भनाइले सो दलको मंगलबार बस्ने वैठकमा विवाद बढाउने कतिपयको विश्लेषण छ।

अर्कोतिर माओवादीबाट अचानक आएको झलनाथ खनाललाई सघाउने भन्ने विकल्पको कुराले नेकपा एमाले मुख्यालयमा सोमबार अबेरसम्म चलेको वैठकलाई समेत प्रभावित बनाएको बुझिएको छ।

नयाँ सरकारको नेतृत्वबारे एमाले भित्रको विवादको छिनोफानो सोमबार साँझ अवेरसम्म भएको थिएन।

उम्मेदवार

अन्य प्रमुख दलहरु भन्दा एक कदम अघि बढेर दोस्रो ठूलो दल नेपाली कांग्रेसले रामचन्द्र पौडेललाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिसकेको छ।

पौडेलले सोमबार एमाले अध्यक्षलाई भेट्न सकेननन्, तर उनले एमालेको सहयोग पाउने आशा व्यक्त गरे।

सत्तासमीकरणको खेलमा निर्णायक हुने ठानिएका तराईका दलहरुले आफ्नो स्वायत्तताको चाहनालाई सघाउने पक्षलाई समर्थन गर्ने बताएका छन्।

सोमबारै तराईकै अर्को दल मधेसी जनाधिकार फोरमले अध्यक्ष उपेन्द्र यादवलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएको छ।