सुनसरी र झापामा बाढीबाट सयौं परिवार प्रभावित

  • 19 जुलाई 2010
वाढीको खतरा
Image caption हरेक वर्ष पूर्वी नेपालमा बाढीले ठूलो समस्या सृजना गर्न गर्दछ

लगातारको झरीले आएको बाढीले पूर्वी नेपालका दुई जिल्लाहरुमा सयौं मानिसहरु प्रभावित भएका छन्।

झापा र सुनसरीमा ५० घर परिवार विस्थापित भएका छन्।

बाढीको प्रकोपको शिकार भई अरु ३०० भन्दा बढी परिवारको विचल्ली भएको अधिकारीहरुले बताएका छन्।

उठीवास

सुनसरीको धरानमा ठकुरीखोलाको किनारमा रहेको सुकुम्बासी वस्तीमा बाढी पसेकाले ३२ घरको उठीवास भएको छ।

जग्गा व्यापारीहरुले जग्गा प्लटिङ गर्दा खहरे खोलाको बाटो साँघुरो पारेकाले सुकुम्बासी वस्ती बाढीको चपेटामा परेको पीडितहरुले बताएका छन्।

तर अधिकारीहरुले भने सुकुम्वासीहरुको लापरवाहीले गर्दा उनीहरु पीडित भएको तर्क गरेका छन्।

धरान नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र पौडेलले भने, “खोलाको किनारमा नवस्न आग्रह गरेपनि सुकुम्बासीहरुले नमानेका कारण उनीहरु बिस्थापित हुनु पुगेका हुन्।” बाढीबाट झापाको रतुवा, विरिङ र कन्काइ खोलामा आएको वाढीले भद्रपुर रदमकका साथै नौवटा दक्षिणी गाउँहरुपनि प्रभावित भएका छन्।

जोखिम

झापाका प्रमुख जिल्ला अधिकारी यादवप्रसाद कोइरालाका अनुसार बाढीले खेतीयोग्य जमिन समेत कटान गरिरहेको छ।

उनले भने, “गाउँ भन्दा नदीको सतह उच्च भएकाले नदीको दायाँ-वायाँका वस्तीहरु बढी जोखिममा परेका छन्।”

जानकारहरुका अनुसार कमजोर भौगोलिक अवस्था भएको चुरे क्षेत्रको बलौटे माटोलाई बर्षाले वगाएर नदीमा थुपारेकाले नदीको सतह उच्च हुदै गएको छ।

यसले गर्दा बाढीको खतरा बढेको उनीहरुको भनाई छ।