नयाँ संविधान यसै वर्षको अन्तसम्ममा: प्रमुख दलहरु

  • 19 जुलाई 2010
constituent assebly building
Image caption तिन दलहरु यसै वर्षको अन्त्यसम्ममा संविधान बनाउन सहमत भएका छनु

संविधानसभाको म्याद थपिएको झण्डै डेढ महिना पछि यसै वर्षको अन्त्य सम्ममा नयाँ संविधान जारी गर्ने गरी कार्यतालिका बनाउन संविधान सभाका तीन प्रमुख दलहरु सहमत भएका छन्।

संविधान सभा अध्यक्ष तथा एकीकृत नेकपा माओवादी, नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरु संलग्न मंगलबारको बैठकले साउनदेखि काम थाल्ने गरी राज्य पुनर्संरचना आयोग बनाउने निर्णय पनि गरेको छ।

संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको पहलमा तीन प्रमुख दलका सचेतक र अन्य नेताहरुबीचको बैठकका सहभागीहरुले साना दलहरुसँगको परामर्शपछि संविधान निर्माणको नयाँ कार्यतालिकालाई अन्तिम रुप दिइने बताएका छन्।

संविधान सभाको म्याद अर्को वर्षको जेठ १४ सम्म थपिएको छ।

समयतालिका

समयतालिका परिवर्तन गर्न परे ठाउँ बाँकी रहोस भनेर चैतसम्ममा नयाँ संविधान जारी गर्ने गरी कार्यतालिका प्रस्तावित गरिएको नेकपा एमालेका प्रमुख सचेतक भीम आचार्य बताउँछन्।

आचार्यका अनुसार तुरुन्त आयोग गठन गर्ने, आयोगले असोज मसान्तसम्म काम गर्ने र कात्तिक मसान्तसम्ममा पहिलो मस्यौदा तयार पार्ने सहमति भएको छ।

उनी भन्छन्, “त्यसपछि जनताकहाँ जानुपर्‍यो, आउनुपर्‍यो, बुँदा बुँदामा छलफल गर्नुपर्‍यो अनि सहमत हुनुपर्‍यो।”

मतभेद

दलहरुबीच कस्तो शासकीय स्वरुप अपनाउने, निर्वाचन प्रणाली कस्तो हुने, न्याय प्रणाली र व्यवस्थापिका कस्तो हुने भन्नेमा फरक मत रहँदै आएको छ।

खासगरी राज्यको पुनसंरचना कसरी गर्ने भन्नेमा दलहरुबीच गम्भीर मतभेद छ।

मंगलबारको बैठकमा साउन १ गतेदेखि काम थाल्ने गरी राज्य पुनर्संरचना आयोग बनाउनेमा तीन दलहरु सहमत भएका छन्। आयोगलाई काम पुरा गर्न दुइ महिना भन्दा बढि लाग्ने नेपाली कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले बताए।

घिमिरे भन्छन्, “कम्तिमा तीन महिना बढिमा चार महिना दिने भन्ने कुरा भएपनि निर्णय भइसकेको छैन।”

संविधान सभाको म्याद थपिनु अघि देखि नै संविधान लेखनभन्दा सरकार बनाउने विषयले महत्व पाउँदै आएको छ।

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, पछिल्लो समयमा दलहरुबीच सरकार बनाउने विषयमा विवाद बढिरहेका बेला संविधान लेखनको विषयमा तिनदलको बैठकले मंगलबार गरेको निर्णयलाई सकारात्मक रुपमा हेरिएको छ।