प्रधानमन्त्रीमा प्रचण्ड, पौडेल र खनालको उम्मेदवारी

  • 20 जुलाई 2010
प्रचण्ड
Image caption माओवादी अध्यक्ष प्रचण्ड अझै सहमतिको सरकार बन्नेमा आशावादी छन्

बुधवार हुने प्रधानमन्त्रीको चुनावमा एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले उम्मेदवारी दर गराएका छन्।

तर जित्ने ठेगान नभएकाले हुन सक्छ, उम्मेदवारी दर्ता गराएर निस्किदा तीनै जना उम्मेदवारको मुहारमा रत्ति पनि खुशी वा प्रसन्नता झल्किएको देखिएन।

पार्टीभित्रको लामो अन्यौल चिर्दै अन्तिम घडीमा उम्मेदवार बन्न पुगेका भूतपूर्व प्रधानमन्त्री प्रचण्ड आफूलाई चुनौति दिन अग्रसर भनि प्रचारित डा. बाबुराम भट्टराई र मोहन वैद्य किरण लगायतका सबैजसो शीर्ष नेताहरुका साथ उम्मदेवारी दर्ता गराउन पुगेका थिए।

आत्मविश्वास

तर उनले तैपनि निर्धक्क भई जित्ने आत्मविश्वास प्रकट गर्न सकेनन्।

उनले भने, “राष्ट्रिय सरकारको स्वरुप बन्ने विश्वासका साथ उम्मेदवारी दर्ता गरेका हौँ। पार्टीहरुसँगको छलफलबाट एउटा निश्कर्षमा पुग्ने आशा छ।”

एमाले र तराई केन्द्रित दलहरुको समर्थन पाउने आशामा सबैभन्दा पहिले उम्मेदवारी घोषणा गरेका कांग्रेस नेता पौडेलमा पनि परिणाम आफ्नो पक्षमा आउने कुरा ठोकुवा गर्ने उत्साह थिएन।

उनले भने, “पहिलो चरणबाटै निश्कर्ष निस्केला जस्तो देखिएन। अर्को चरणमा के हुन्छ हेरौँ।”

पार्टीले उम्मेदवार छान्नु अघिसम्म पौडेललाई चुनौति दिएका शेरबहादुर देउवा पौडेलले जित्नेमा विश्वस्त देखिए।

उनले सम्वाददाताहरुलाई भने, “तर कसरी जित्नु हुन्छ भन्ने सबै कुरा अहिले नै किन भनुँ?”

माओवादीको समर्थनमा प्रधानमन्त्री बन्ने धोको पालेका एमाले अध्यक्ष खनाल पनि उम्मेदवार बनेका छन्।

तर पार्टीभित्रको अन्तरकलहका माझ उनी राजनीतिक रुपमा हात खुट्ट बाधेर चुनावी मैदानमा उतारिएका छन्।

खनाल फिर्ता

एमाले सचिव विष्णु पौडेलले भने, “चुनावमा जानुअघि दुई तिहाई बहुमतको समर्थन निश्चित नभए उम्मेदवारी फिर्ता लिन्छौँ।”

आफ्नो पक्षमा बहुमत नजुटे एमालेलाई समर्थन गर्ने मनस्थिति बनाए पनि उसको निर्णय भरपर्दो नभएकैले प्रचण्डलाई उभ्याइएको माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशको भनाई छ।

दुई तिहाईको साथ निश्चित नभएकाले एमालेले अध्यक्ष खनाललाई प्रतिष्पर्धाबाट बाहिर्‍याएर कसैको पक्षमा मतदान गर्ने छैन।

त्यसो हुँदा अहिले करिब सम्भावना नै नदेखिएको भनिएको तराई केन्द्रित पार्टीहरुको साथ प्रचण्डले पाएमा बाहेक कसैको पक्षमा बहुमत आउने छैन।

त्यसपछि घोषणा हुने अर्को चरणको चुनावमा प्रचण्ड र पौडेलबीच प्रतिष्पर्धा हुनेछ।