प्रधानमन्त्रीको अशुभ दौड

  • 20 जुलाई 2010
madhav nepal
Image caption माधव नेपालले राजीनामा दिएको तीन साता पछि उनको उत्तराधिकारी प्रस्ट भएको छैन

साउन पाँच गते प्रस्तावित प्रधानमन्त्रीको चुनावको निम्ति ‘राजनीतिक बक्सिङको रिङ’ भित्र सबैभन्दा पहिले नेपाली कांग्रेसले आफ्ना नेता रामचन्द्र पौडेललाई छिराएको थियो।

उनलाई घुडा टेकाउने फुर्तीका साथ तिघ्रा ठटाउँदै बल्खुबाट निस्किने सुरसार गरे, एमाले अध्यक्ष झलनाथ खनालले।

स्भाविक थियो त्यो खबरले कांग्रेस वृतमा एमालेप्रति असन्तोष उत्पन्न गर्नु।

त्यो किन भने माओवादीको सहयोगको आशा मारेर मैदानमा उत्रिएको उसको निम्ति भरोसा भनेकै वर्तमान सत्ता गठबन्धन अर्थात एमाले र तराई केन्द्रित दलहरु नै थिए।

अध्यक्ष खनाल भने माओवादीको साथ पाउने विश्वासमा हौसिएका हुन्।

उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन पार्टीको एउटा बैठकपछि माओवादी नेता नारायणकाजी श्रेष्ठले प्वाक्क मुख खोलेर खनाल पक्षलाई उर्जा थपिदिए।

कोटेश्वरस्थिति पेरिसडाँडाबाट निस्केको ‘नारायण-वाणी’ को तरंग केन्द्रिय कमिटी बैठक चलिरहेको एमाले मुख्यालयसम्मै पुगेको थियो।

जहाँ माओवादीको मात्र भर परेर सरकारको नेतृत्व गर्न खनालले खुट्टा उचाल्न नहुने पक्षपातिहरुको बोलवाला थियो।

उनीहरु ‘१४ महिना आफ्नै पार्टीको सरकारलाई काँध थापिदिएको कांग्रेसलाई धोका दिएर धर्म छाड्न नहुने’ तर्क दिएर खनालको महत्वाकाँक्षामा लगाम लगाउन उद्त्त थिए।

तर खनाललाई सघाउने विषयमा माओवादीभित्र पनि कहिल्यै एकमत रहेन्।

अध्यक्ष प्रचण्डले ‘पार्टीको अर्को नेतालाई प्रधानमन्त्री बन्न नदिन आफ्नो विकल्प नतोकेर बरु अरुको पक्षमा माहौल बनाएको’ असन्तुष्टीपूर्ण टिप्पणी प्रभावशाली माओवादी नेताहरुबाटै आउने गरेको थियो।

हुन पनि अरु दलका अन्य नेताभन्दा खनाल माओवादीप्रति लचिलो धारणा राख्ने नेताको रुपमा परिचित भए पनि सेनापति प्रकरणपछि माओवादीभित्र उनी ‘धोकेबाज’ को रुपमा पनि चित्रित छन्।

तर आफ्नो पार्टीका अतिरिक्त आफूले भरोसा ठानेको माओवादीभित्रको आन्तरिक खेल जुनसुकै बेला आफ्नो निम्ति प्रतिकूल हुनसक्नेप्रति खतारप्रति खनाल सचेत नभएका होइनन्।

किन कि माओवादीभित्र तराईका पार्टीहरुको समर्थनमा पार्टीभित्रैबाट प्रधानमन्त्री बनाउने सकिने आशा अन्तिम समयसम्म कामये देखियो।

खनालप्रति समर्थनको सम्भावना व्यक्त गर्न लगाएका अध्यक्ष प्रचण्ड स्वंय त्यसको निम्ति अन्तिम अवस्थासम्म सक्रिए रहे।

जवकी उम्मेदवारी दिने दिँउसोसम्म एमाले नेतृत्व माओवादीको निर्णयको प्रतिक्षामा थियो।

त्यो किन भने माओवादीभित्र आफ्नो नेतृत्वमा सरकार बन्न नसके एमालेभन्दा तराईकै दलहरुलाई समर्थन गर्नु पर्ने प्रभावशाली मत माओवादीभित्र रहेको जानकारहरुको बुझाई छ।

प्रमुख दलबीचको तछाड मछाडको मौकामा चौका हान्ने दाउँमा तराई केन्द्रित दलहरु पनि देखिए।

कतिपय राजनीतिशास्त्रीले उम्मेदवारी दर्ता गर्ने दिन दिउँसोसम्म संसदभित्रको गणितिय चित्र स्पष्ट नहुनुलाई कमजोर राजनीतिको संकेत ठानेका छन्।

शान्ति र संविधान लेखनमा दत्तचित हुनु पर्नेमा न्युनमत राजनीतिक नैतिकतालाई वेवास्ता गर्दै एकअर्कालाई कमजोर बनाउने दलहरुको चेष्टा प्रधानमन्त्रीको दौडमा थप खुलस्त भएको भनि उनीहरुले थप आलोचना पनि खेप्नु परेको छ।

त्यसैले चुनावी परिणाम आउनु अघि धेरैको साझा मत पाइयो, “दृष्यमा आएका वा अचानक उदाउने जो सुकै सिंहदरवारमा पुगे पनि शान्ति प्रकृयाको निम्ति खेलको संकेत शुभ भन्दा अशुभ देखियो।”