पश्चिम नेपालमा बाढी पहिरोबाट दसजना वेपत्ता

  • 20 जुलाई 2010
पश्चिम नेपालमा पहिरो
Image caption बर्षायाममा बाढी संगसंगै पहिरोबाट पनि जनधनको ठूलो क्षति हुने गर्दछ

मनसुनी झरी संगै पश्चिम नेपालमा आएको बाढी र पहिरोमा परी १० जना बेपत्ता भएका छन् भने अरु कैयौं मानिसहरु विस्थापित भएका छन्।

बाढी र पहिरोको मारमा तराई र पहाडी दुबै क्षेत्र परेका छन्।

पहाडी जिल्ला डोल्पाको करमगाढमा बाढी र पहिरो एकसाथ आउँदा १० जना बगेर वेपत्ता भएको अधिकारीहरुले बताएका छन्।

वेपत्ता हुनेहरु सबै एकै परिवारका हुन्।

बाधा

उनीहरुको खोजी जारी रहेको मध्यपश्चिम प्रहरी कार्यालयका प्रवक्ता नरेशमान श्रेष्टले बताएका छन्।

मध्यरातमा आएको बाढी पहिरोबाट उम्केका केही आफ्नो ज्यान जोगाउन सफल भएका थिए।

तर हराएकाहरुलाई जीवितै फेला पर्ने संभावना कम भएको प्रहरीले बताएको छ।

प्रहरी कार्यालयका प्रवक्ता नरेशमान श्रेष्टले भने, “खराब मौसमले उध्दार र राहत कार्यमा बाधा पुगिरहेको छ।”

करमगाढमा गएको पहिरोले इलाका प्रहरी कार्यालय सहित २० भन्दा बढी घर बगाएको छ।

लगातार दुई दिनको झरीपछि आएको बाढीले पहाडी भेग जोड्ने धेरै बाटो बिग्रेको छ।

सल्यान, रुकुम, रोल्पा, बझांग, अछाम आदि पहाडी जिल्लाका धेरै बाटोमा पहिरोले यातायात अवरुध्द भएको छ।

तराईका बाँके, बर्दिया, कैलाली, कंचनपुर, जिल्लाका धेरै भाग डुबानमा परेपछि कैयौं मानिसहरु आफ्नो घर छोड्न बाध्य भएका छन्।

मंगलबार दिउँसो देखि पानी पर्न रोकिएकाले बाँकेको राप्ती नदी किनारका मानिसहरुले केही राहत महसूस गरेका छन्।

विचल्ली

मध्यपश्चिमको मुख्य शहर नेपालगंजका धेरै इलाका जलमग्न भएको छ।

पूर्वी नेपालका जिल्लाहरुमा पनि बाढीले सयौं परिवार प्रभावित भएका छन्।

लगातारको झरीले आएको वाढीले पूर्वी नेपालका दुई जिल्लाहरुमा सयौं मानिसहरु प्रभावित भएका छन्।

झापा र सुनसरी ५० घर परिवार विस्थापित भएका छन्।

बाढीको प्रकोपको शिकार भई अरु ३०० भन्दा वढी परिवारको विचल्ली भएको अधिकारीहरुले बताएका छन्।