प्रधानमन्त्री चुन्न भएको मतदान अनिर्णित

  • 21 जुलाई 2010
संविधानसभा, संसद
Image caption व्यवस्थापिका संसदका सदस्यहरुबीच मत विभाजन गरी चुनाव गराईएको थियो।

बुधबार बेलु्का सकिएको प्रधानमन्त्रीको चुनावमा कुनै उम्मेदवारले बहुमत जुटाउन नसकेपछि अर्को चुनाव शुक्रबार हुने भएको छ।

नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल चुनावी मैदानबाट पछि हटेकाले शुक्रबार एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसको संसदीय दलका नेता तथा उपसभापति रामचन्द्र पौडेलबीच प्रतिष्पर्धा हुनेछ।

एमालेले आफ्ना उम्मेदवार खनालको पक्षमा दुई तिहाईको संख्या नपुगेकाले पार्टी निर्णय अनुरुप उनको उम्मेदवारी फिर्ता लिएको थियो।

प्रधानमन्त्रीको चुनाव जित्न हाल रहेका ५९९ जना सांसद हरुको बहुमत अर्थात ३०० मत ल्याउनु पर्ने थियो।

तर माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस नेता पौडेलले मुख्यगरी आफ्नै पार्टीको मात्र भोट पाए।

दुबैजना वहुमत जुटाउन विफल भएपछि उनीहरुबीच फेरि प्रतिष्पर्धा हुनलागेको हो।

सभामुख सुवासचन्द्र नेम्वाङले भने, “दुबै उम्मेदवारको पक्षमा बहुमत नपुगेकाले ती नामहरु निर्णयार्थ पेश गर्न संसदको बैठक साउन ७ गते शुक्रबार तोकेको छु।”

दुई तिहाई बहुमतको समर्थन पाए मात्र मतदानमा जाने शर्तमा पार्टीबाट उम्मेदवार बनाइएका खनाललाई त्यो सम्भव नभएपछि एमालेले उनलाई चुनावी मैदानबाट पछि हटाएको थियो।

खनालका प्रस्तावक समेत रहेका कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले भने, “हाम्रो उम्मेदवारको पक्षमा ४०१ जनाको लिखित प्रतिबद्धता नपुगेकाले पार्टीको निर्णय अनुसार उम्मेदवारीको प्रस्ताव फिर्ता लिएको जानकारी गराउँछौँ।”

तटस्थ

तराई केन्द्रित चारदलीय गठबन्धन तटस्थ बस्ने निर्णय गरेपछि खनालको पक्षमा दुई तिहाई नपुगे पनि माओवादी सहित कतिपय साना पार्टीले साथ दिने प्रतिबद्धता जनाएकाले बहुमत भने पुग्ने स्थिति देखिएको थियो।

प्रधानमन्त्री नेपाल र केपी शर्मा ओली पक्ष आफू प्रधानमन्त्री बन्न अध्यक्ष खनालले राष्ट्रिय सहमतिको नाराको भरमा आफ्नै पार्टीको बहुमतको सरकारलाई अप्ठेरोमा पारेको आरोप लगाउने गरेका थिए।

त्यही आन्तरिक मतभेदका कारण नै पार्टीभित्रैबाट खनाललाई करीव असम्भव ठानिएको शर्तमा उम्मेदवार बनाइएको जानकारहरुको बुझाइ छ।

तर त्यो बहुमतलाई खासै गम्भीर रुपमा नलिएर प्रधानमन्त्री नेपालले आन्तरिक मनोमालिन्यता संसदमा सार्वजनिक गरेका थिए।

उनले भने, “सरकार नै बहुमतमा छ भने उम्मेदवारको पक्षमा वहुमत नपुग्ने कुरै भएन।”

अर्को चरणको चुनावमा तराईका पार्टीको मात्र साथ पाए प्रचण्डको पक्षमा बुहमत जुटन सक्नेछ।

तर पौडेलले भने एमाले सहित तराईका पार्टीहरुको पनि समर्थन लिनु पर्नेछ।

माओवादीले एमालेलाई साथ दिने घोषणा गरेर शुक्रबार हुने चुनावको निम्ति उसमाथि नैतिक दबाब सृजना गर्न खोजेको देखिन्छ।

यसले गर्दा माओवादी र कांग्रेस मध्ये कस्लाई रोज्ने भन्ने विषय एमालेमा चर्को विवादको मुद्दा बन्न सक्ने अनुमान कतिपय विश्लेषकहरुको छ।