माओवादी, कांग्रेस बहुमत जुटाउन व्यस्त

  • 22 जुलाई 2010

प्रचण्डको पक्षमा बहुमत जुटाउन माओवादीले तिब्र प्रयास गरिरहेको छ

शुक्रबार संसदमा दोस्रो पटक हुने प्रधानमन्त्रीको चुनावमा कसैको पनि स्पष्ट बहुमत नआउने संभावना बलियो देखिए पनि एकीकृत नेकपा माओवादी र नेपाली कांग्रेस आ-आफ्नो पक्षमा बहुमत जुटाउन जोडतोडका साथ लागि परेका छन्।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा बहुमत जुटाउन एकीकृत माओवादीले साना र तराईका दलहरुसँग परामर्श गरेको छ।

नेपाली कांग्रेसले भने आफ्नो उम्मेदवार रामचन्द्र पौडेललाई वर्तमान सत्तासाझेदार नेकपा एमालेलगायतका दलले सहयोग गर्ने आशा जिवितै राखेको छ।

शुक्रबार संसदमा हुने प्रधानमन्त्रीको चुनाव पनि बुधबारको जस्तै निश्कर्षहीन रुपमा टुङ्गिने अनुमान गरिएको छ।

कसरत

तर चुनावको घडी नजिकिदै गर्दा प्रधानमन्त्री पदका दुबै दाबेदारले आ,आफ्नो पक्षमा बहुमत जुटाउन कसरत भने जारी राखेका छन्।

त्यसक्रममा सबै भन्दा ठूलो दल एकीकृत माओवादीका उम्मेदवार प्रचण्डले बिहिबार राजतन्त्रवादी मानिएको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र अन्य साना दलका नेताहरुको सहयोग मागे।

ती भेटघाटमा सहभागी माओवपदी एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले प्रचण्डको पक्षमा बहुमत जुट्ने विश्वास व्यक्त गरे।

“चुनावको परिणाम हाम्रो पक्षमा पार्न सम्पूर्ण प्रयत्न गर्ने भनेर हामी लागि राख्या छौं।”

नेपाली कांग्रेसले अझै नेकपा एमालेको सहयोग पाउने आशा जिवितै राखेको छ

सबै भन्दा पहिले प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेताहरुले पनि आफ्ना उम्मेदवार रामचन्द्र पौडेललाई नेकपा एमाले र एकीकृत माओवादी समेतले समर्थन गर्ने आशा व्यक्त गरेका छन्।

बिहिवार पार्टी मुख्यालयमा आफ्ना स्वर्गीय नेता बीपी कोइरालाको स्मृतीमा आयोजित एउटा कार्यक्रममा बोल्दै रामचन्द्र पौडेलले भोली प्रधानमन्त्री चयन हुने स्थिति नबने फेरि अर्को पटक चुनाव हुने बताए।

अनिश्चय

तर त्यस्तो परिस्थिति आफूलाई स्वागतयोग्य नहुने बताए

“अब फेरी अर्को चोटी चुनाव हुने स्थिति आयो भने नेताहरुको विचार गर्नु पर्छ: पार्टीहरु देशप्रति जिम्मेवार हुने की नहुने?”

एकिकृत माओवादीका नेताहरु बिहिबार साँझ अवेर सम्म तराईका दलहरुसँग छलफल गर्ने तयारीमा थिए। कांग्रेसका नेताहरुले पनि शुक्रबार चुनाव हुने समय अगाडि सम्म विभिन्न दलका नेताहरुसँग छलफल जारी राख्ने बताएका छन्।