असमान झरीले धान उत्पादनलाई असर पर्ने चिन्ता

  • 23 जुलाई 2010
रोपाईं भएका खेतहरु
Image caption हालसम्म साठि प्रतिशत खेतहरुमा रोपाईं भइसकेको अधिकारीहरुले बताएका छन्

हालसम्म करीब साठि प्रतिशत खेतहरुमा रोपाईं भइसकेको भएपनि कतै सुख्खा कतै बाढि आएकोले समग्र धान उत्पादनको अवस्थाबारे अन्योल रहेको अधिकारीहरुको भनाई छ।

पोहोर साल धान उत्पादन एघार प्रतिशत घट्दा आर्थिक वृद्धि एक प्रतिशतले घटेको थियो।

आकाशतिर आँखा

राजनीतिक अस्थीरताका कारण को प्रधानमन्त्री होला भनेर कतिपयको आँखा संसदतर्फ केन्द्रित भइरहेको यो बेला, धेरै नेपाली किसानहरुको आँखा भने आकाशतिर छ।

यसपालीको बर्खा कस्तो हुने हो, बेलामा पर्याप्त पानी पर्ने हो कि होइन भन्ने चिन्ताले उनीहरु ग्रसित छन्।

उनीहरु जत्तिकै चासो दिएर आकाशतर्फ हेरिरहेका कृषि मन्त्रालयका अधिकारीहरु भने मनसुन पूर्ण सक्रिय नभएकोमा चिन्तित छन्।

कृषि मन्त्रालयका प्रवक्ता डा हरि दाहालले भने, “जुन १० मा भित्रिनुपर्ने मनसुन पोहोर जुन २३ मा भित्रियो भने यसपाली जुन १७ मा भित्रियो।”

“देश भित्रिइसकेपछि पनि मनसुन पूर्ण सक्रिय हुन सकेन। एक साता अगाडिदेखि बल्ल राम्रो पानी पर्न थालेको छ। तर कतै सुख्खा कतै बाढि आएको छ।”

रोपाईं

पोहोर यतिबेला चालीस प्रतिशत खेतहरुमा रोपाईं भएकोमा यसपाली करीब साठि प्रतिशत खेतहरुमा रोपाईं भइसकेको सरकारी तथ्यांक छ।

“पछिल्लो तथ्यांक अनुसार हालसम्म उच्च पहाडि क्षेत्रमा ७५ प्रतिशत, पहाडि क्षेत्रमा ६९ प्रतिशत तथा तराईमा ५५ प्रतिशत रोपाईं भइसकेको छ,” डा दाहालले बताए।

धानबालीको उत्पादनको सुक्ष्म जानकारी राख्नु सरकारको निम्ति अत्यन्त महत्वपूर्ण छ।

जसको एउटा उदाहरण अर्थ मन्त्री सुरेन्द्र पाण्डेले केहि समय अगाडि दिएका थिए।

पूर्ण बजेटको साटो पेश्कि बजेटमा चित्त बुझाउन वाध्य अर्थमन्त्री सुरेन्द्र पाण्डेले पत्रकारहरुसंग कुरा गर्ने क्रममा आफ्नो पालामा आर्थिक वृद्धि कमजोर हुनुको दोष आकाशलाई दिएका थिए।

'धानको हात'

अपेक्षा गरेको साढे पाँच प्रतिशतको वृद्धि साढे तीनमा सीमित हुनुमा मुख्य हात धानकै रहेको तथ्यांक उनले प्रस्तुत गरे।

“पोहोर समयमा पानी नपरेपछि धानको उत्पादन ११ प्रतिशत घट्यो जसको सीधा असरले कुल गार्हस्थ उत्पादनको वृद्धिमा एक प्रतिशतले कमी आयो। दुर्भाग्य के छ भने अझैपनि आकाश हेरेर आर्थिक वृद्धिको प्रक्षेपण गर्न हामी वाध्य छौं,” पाण्डेले भने।

पोहोर धानको उत्पादन पाँच लाख टनले घटेको थियो।

अनेक राजनीतिक उथलपुथल, बन्द हड्ताल जस्ता कारणले आर्थिक वृद्धि सोचेभन्दा दुई प्रतिशत कम भएको ठानिएको बेला, धानमा आएको त्यति ह्रास मात्रले उक्त वृद्धिलाई एक प्रतिशत कम गराइदिएको तथ्यांकले नेपालको कृषिमा आकाशे पानीको कति ठूलो योगदान रहेछ भन्ने प्रष्ट हुन्छ।