प्रधानमन्त्रीको दौडबाट खनाल किन बाहिरिए?

  • 26 जुलाई 2010
झलनाथ खनाल
Image caption दुई तिहाइ मतको नजिक पुगेका खनाल चुनावी मैदानबाट बाहिरिएका छन्

आफ्नै नेतृत्वको सरकार विघटन गराएको आरोप अनि आफैंले लगाएको राष्ट्रिय सरकारको नारा प्रधानमन्त्रीका लागि दुई तिहाईको समर्थन पाउनै आँटेका नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको निम्ति गलपासो बन्यो।

तर चुनावी मैदानबाट फिर्ता बोलाइएको भोलीपल्ट साउन ८ गते खनालले पार्टी कार्यालय बल्खुमा पत्रकार सम्मेलन गर्दा उनी हाँसी-खुशी नै देखिन्थे।

अत्यधिक बहुमतले प्रधानमन्त्रीमा सघाउने वाचा गर्दा समेत चुनावी मैदानबाट फिर्ता हुनु पर्दाको पीडा भाव प्रकट नहोस भन्नेमा खनाल सचेत लाग्दथे।

संभवत: त्यसो गर्न उनी नैतिक बन्धन र बाध्यतामा थिए।

विरोधाभाष

सामान्य बहुमत जुटाउन नसकेका एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले चुनावको अर्को चरणमा प्रतिष्प्रधा गर्न पाए।

तर संसदीय दलका नेता, कम्युनिष्ट पार्टीका निर्वाचित अध्यक्ष खनाल, स्पष्ट बहुमतका साथ दुई तिहाइको नजिक पुग्दा पनि बाहिरिनु पर्यो।

जबकी एमालेकै नेता माधवकुमार नेपाल दुई-दुई ठाउँबाट चुनाव हारे पनि बहुमतकै प्रधानमन्त्री बन्न पाएका थिए।

खनालको पक्षमा दुई तिहाई नपुगेपछि माओवादीले बहुमतको नेतृत्व गर्न तयार भए खनाललाई सघाउने वचन दिइरहेको थियो।

तर ‘मतदानमा भाग लिनु अघि ४०१ जनाको लिखित समर्थन नपाए उम्मेदवारी फिर्ता लिने’ पार्टीको निर्णय अनुसार खनालका प्रस्तावक समेत रहेका प्रधानमन्त्री नेपालले उनलाई मैदानबाट फिर्ता बोलाए।

खनाल पक्षधर भने उम्मेदवारी फिर्ता नलिई दुई तिहाई पुर्‍याउने अवसर उपयोग गर्ने पक्षमा थिए।

हुन पनि चुनाव राष्ट्रिय सहमतिको निम्ति भएका प्रयासमा तीन साता व्यर्थै वितेपछि बहुमतबाटै प्रधानमन्त्री छान्नका निम्ति भएको थियो।

गुह्य कारण

उम्मेदवारी फिर्ता लिएपछि खनाल पक्षले आफ्ना अध्यक्षले पार्टी विभाजन रोकेर त्याग देखाएको असन्तुष्टपूर्ण प्रतिक्रिया दिए।

त्यो प्रतिक्रियाले एमालेभित्रको आन्तरकलहको स्पष्ट संकेत दिन्छ।

एमालेभित्रको मतभेदको तत्कालको भने होइन।

प्रधामन्त्री नेपालले जेठ १४ गते भएको सहमति पालना भए लगत्तै पदत्याग गर्ने लिखित कवोल गरेका थिए।

त्यसपछि पनि उनले ‘विकल्प दिने वित्तिकै राजिनामा दिने’ कुरा बारम्वार दोहर्‍याए।

तर खनाल पक्षले राष्ट्रिय सहमतिको निम्ति सरकार बाधक भएको भन्दै राजिनामाको निम्ति पटक-पटक सार्वजनिक रुपमा दवाव दिइरहे।

‘प्रतिपक्षिको एकोहोरो प्रहार खेपिरहेका आफ्नै पार्टीका प्रधानमन्त्रीको रत्तिभर वचाउ नगरेको’ तितो नेपाल पक्षको मनमा पखालिएको थिएन।

त्यसैले खनाललाई पाखा लगाउन उनी विरोधी भनेर चिनिने पार्टीभित्रको शक्तिशाली नेपाल र केपी ओली खेमाले खनालले उठाउने गरेको राष्ट्रिय सरकारको नारालाई हतियार बनाउने अवसर पाए।

'खुच्चिङ्'

खनालले पनि पार्टी निर्णय सच्याउन जोरबलै गर्ने नैतिक आँट गर्न सकेनन्।

मैदानबाट बाहिरिएपछि खनालले फेरी चुनावी प्रतिष्पर्धामा प्रवेश गर्न मिल्ने गरी संसद नियमावली संसोधन गर्न सकिने नयाँ तर्क अगाडी सारे।

तर खनाल पक्षले पार्टी कदमको तीव्र असन्तुष्टी र पीडाको संकेत दिए पनि खनाल स्वयँचाहिँ पार्टी भित्रका आफ्ना विरोधी विरुद्ध विष वमन गर्न नसक्ने गरी अध्यक्षको पदीय गरिमाको नैतिक बन्धनमा छन्।

अहिले आएर बहुमतको प्रधामन्त्रीलाई भोट नदिने एमालेको निर्णय आन्तरिक कलहलाई ओझेलमा पार्ने विकल्प बनेको देखिन्छ।

त्यही निर्णले प्रधानमन्त्री चयनको प्रकृया लम्बियो।

यस्तो स्थितिमा खनाल विरोधी पक्षले भने प्रधानमन्त्रीले राजिनामा दिने वित्तिकै सहमतिको ढोका खुल्छ भन्नेहरुलाई खुच्चिङ् गर्ने अवसर पाएका छन्।

त्यो व्यंग प्रतिपक्षि माओवादीका साथै आफ्नै पार्टी संस्थापन तर्फ लक्षित छ।