एमालेमा तटस्थ रहने निर्णय समीक्षा गर्न माग

  • 26 जुलाई 2010
झलनाथ खनाल
Image caption प्रधानमन्त्रीको चुनावमा तटस्थ रहने अडान एमाले अध्यक्षले लिएका छन्

नेकपा एमालेका एकजना वरिष्ठ नेताले प्रधानमन्त्री चयनको लागि हुने तेस्रो चुनाव अगावै आफ्नो पार्टीको तटस्थ रहने निर्णयको समीक्षा हुनुपर्नेमा जोड दिएका छन्।

तर सो पार्टीका अध्यक्ष झलनाथ खनालले १७ गतेका लागि तय गरिएको प्रधानमन्त्रीको चुनाव अगाडि नेकपा एमालेले आफ्नो निर्णय परिवर्तन नगर्ने अडान दोहोर्‍याएका छन्।

प्रधानमन्त्रीको चुनावमा कुनै पनि पक्षले स्पष्ट बहुमत हासिल नगर्ने परिस्थिति दोहोरिरहेको सन्दर्भमा नेकपा एमाले तटस्थ नै रहने भन्ने निर्णय परिवर्तन गर्न सो पार्टीको नेतृत्वमाथि दबाब बढ्ने संकेत देखिएको छ।

नेकपा एमालेका सचिव समेत रहेका वर्तमान कामचलाउ सरकारका सूचना तथा संचार मन्त्री शंकर पोखरेलका विचारमा अहिलेको ‘सरकारविहिनताको स्थिति’ तोड्नको निम्ति पार्टीले छिट्टै छलफल शुरु गर्न जरुरी छ।

‘समीक्षा

उनले भने, “यस्तो स्थितिको समीक्षा गर्नको निम्ति हाम्रो पार्टीले छलफल गर्नु पर्छ।”

आफ्नो दलको तटस्थ रहने भन्ने अडानमा कुनै परिवर्तन नहुने भन्ने अध्यक्ष झलनाथ खनालको ताजा भनाइले नेकपा एमालेभित्र तीव्र मतभेद जारी रहेको संकेत गर्‍यो।

सोमबार बीबीसीसित कुरा गर्दै खनालले भने, “हाम्रो अडान परिवर्तनको कुनै आवश्यकता छैन; हाम्रो अडान कायमै रहन्छ।”

तेस्रो ठूलो दल नेकपा एमाले र निर्णायक हुने ठानिएका तराईका दलहरु तटस्थ बसेपछि संसदमा प्रधानमन्त्री चुन्नका लागि भएका दुबै चुनाव अनिर्णित भएका थिए।

संभावना

तराईका दलहरुको मोर्चा र एमालेको अनिर्णयका कारण नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र एकीकृत माओवादीका उम्मेदबार पुष्पकमल दाहाल प्रचण्ड दुबैले स्पष्ट बहुमत हासिल गर्न सकेका छैनन्।

एमाले अध्यक्षको पछिल्लो अडानले आगामी साउन १७ गतेका लागि निर्धारित प्रधानमन्त्रीको तेस्रो चुनाव पनि अनिर्णित नै रहने संभावना प्रबल भएको छ।

तर सो दल भित्र ताजा मन्थन शुरु भएर उसको निर्णय परिवर्तन हुन सके स्थितिले कोल्टे फेर्न सक्छ र संभवत: देशले नयाँ प्रधानमन्त्री पाउन सक्छ।