इराकस्थित नेपालीहरुबारे सरकार निर्णय नजिक

  • 27 जुलाई 2010
नेपाली युवाहरु
Image caption वैदेशिक रोजगारीमा जाने युवाहरुले नेपालको नाजुक अर्थतन्त्रलाई टेवा पुर्‍याइरहेका छन्

नेपाल सरकारले आउने अगष्ट नौ तारिखसम्ममा इराक छोड्न भनिएका तीस हजार नेपाली कामदारको उद्धार गर्नेतर्फ छिट्टै एउटा निर्णय गर्न लागेको जानकारी अधिकारीहरुले दिएका छन्।

इराकस्थित अमेरिकी सेनाको सेन्ट्रल कमाण्डले इराकमा कामगरिरहेका फिलिपिनो र नेपाली कामदारहरुलाई २० दिन भित्र इराक छोड्न एक साता अघि एउटा सूचना जारी गरेको थियो।

त्यसपछि नेपाली अधिकारीहरुले नेपाली कामदारहरुको हित संरक्षण गर्न कुटनैतिक सक्रियता बढाएका हुन्।

नेपाल सरकारले छ वर्षअघि प्रतिबन्ध लगाएपनि हजारौं नेपाली कामदारहरु इराक पुगेर विभिन्न कम्पनीहरुमा काम गरिरहेको तथ्य गत साता जारी भएको अमेरिकी सूचना पछि फेरि छताछुल्ल हुन पुगेको थियो।

‘चाँडै’

परराष्ट्र मन्त्रालयको अनुमानमा इराकमा ३० देखि ४० हजार नेपाली कामदारहरु रहेका छन्।

श्रम तथा यातायात मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईका अनुसार इराकस्थित अमेरिकी सेन्ट्रल कमाण्डको निर्देशनलाई मध्यनजर गर्दै मन्त्रालयले इराकमा रहेका नेपालीहरुको हित संरक्षण गर्ने तर्फ चाँडै एउटा निर्णय गर्दैछ।

उनले भने, “इराकमा रहेका नेपाली नागरिकहरुको अधिकतम हित गर्नको निम्ति चाँडो भन्दा चाँडो एउटा मन्त्रिस्तरीय निर्णय हुदैंछ।”

इराकमा रहेका नेपालीहरुका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पनि श्रम मन्त्रालय, इराक हेर्ने पाकिस्तान स्थित नेपाली दूतावास र कुवैत स्थित नेपाली दूतावाससँग समन्वय गरेर काम गरिरहेको परराष्ट्र मन्त्रालयका सचिव मदन भट्टराईले बताए।

“यस विषयमा श्रम मन्त्रालयले चाँडै निर्णय गर्छ।”

अनिश्चय

एउटा विद्रोही समूहले १२ जना नेपाली कामदारहरुको अपहरण गरी हत्या गरे लगत्तै छ वर्ष अघि नेपाल सरकारले नेपाली कामदारहरुलाई ईराक जान प्रतिबन्ध लगाएको थियो।

तर इराकस्थित बहुराष्ट्रिय कम्पनीहरुले तुलनात्मकरुपमा राम्रो पारिश्रमिक र सुविधा प्रदान गर्ने भएकाले विभिन्न खाडी देश पुगेका नेपाली कामदारहरु इराकतर्फ आकर्षित हुने गरेका थिए।

तर अहिले इराक पुगेका नेपाली कामदारहरुको रोजगारी संगसंगै भविष्य पनि अनिश्चियको घेरामा छ।