विदेशी हस्तक्षेप अस्वीकार्य: माओवादी

  • 4 अगस्ट 2010
एकीकृत माओवादीका नेताहरु
Image caption श्याम सरणले माओवादी नेताहरुसँग पनि भेटघाट गर्ने कार्यक्रम छ

एकीकृत नेकपा माओवादीले नेपालमा सरकार निर्माण गर्ने विषयमा कुनै पनि प्रकारको विदेशी हस्तक्षेप आफूलाई स्वीकार्य नहुने बताएको छ।

प्रधानमन्त्री माधवकुमार नेपालले राजिनामा दिएको एक महिना वितिसक्दा पनि उनको उत्तराधिकारी चयन हुन नसकेपछि, भारतीय प्रधानमन्त्रीले आफ्नो विषेश दूत नेपाल पठाएकै दिन माओवादीले त्यस्तो भनाइ सार्वजनिक गरेको हो।

भारतीय प्रधानमन्त्रीका विशेष दूत श्याम सरण नेपाल आइपुगेकै दिन बसेको एकीकृत माओवादीका पदाधिकारीहरुको वैठकमा नेपालमा सरकार निर्माणका क्रममा हुन सक्ने भनिएको विदेशी हस्तक्षेपको विषयले पनि प्राथमिकता पाएको थियो।

सो वैठकमा सहभागी एकजना उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले नेपालको आन्तरिक मामिलामा भारतले कुनै पनि प्रकारको हस्तक्षेप गर्न नहुने पक्षमा आफ्नो पार्टी दृढ रहेको बताए।

‘हस्तक्षेप’

भारतीय विशेष दूत श्याम सरणको भ्रमणलाई इङ्गित गर्दै उनले भने, “उहाँहरुको भ्रमणले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु हुदैन।”

“नेपालको समस्या नेपालीहरुले नै मिलेर समाधान गर्नु पर्छ।”

तर प्रकाशले नेपालमा शान्ति प्रक्रियालाई टुङ्ग्याउदै संविधान निर्माण गर्न विदेशी मित्रहरुको सदभाव र शुभेच्छा भने आवश्यक रहेको बताए।

नेपालमा राजनीतिक सहमति जुटाउन नेपालका दलहरुलाई आग्रह गर्न नेपाल आएका भनिएका विशेष दूत श्याम सरणको एकीकृत माओवादीका नेताहरुसँग पनि भेट्ने कार्यक्रम छ।

आग्रह

राजनीतिक सहमतिको खोजी जारी रहँदा, तेस्रो ठूलो दल नेकपा एमालेले प्रचण्डको उम्मेदवारी फिर्ता लिएर सहमतिय सरकार निर्माणको लागि बाटो खोल्न एकीकृत माओवादीलाई आग्रह गरेको छ।

तर उपाध्यक्ष प्रकाशले २१ गते हुने चौथो चरणको चुनावबाट आफ्नै नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन सकिने आफ्नो दलको धारणा रहेको बताए।

नेकपा एमालले बुधबार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई पनि २१ गतेको चुनावमा बहुमतिय प्रधानमन्त्रीलाई नसघाउन आग्रह गरेको बताइएको छ।

तर सो मोर्चाको एउटा घटक मधेसी जनाधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका अनुसार २१ गतेको चुनावमा तराईका दलहरुले के गर्ने भन्ने विषयमा अझै कुनै निर्णय भइसकेको छैन।