माओवादीभित्र विवाद चुलियो

  • 9 अगस्ट 2010
माओवादी नेताहरु
Image caption बुधबारदेखि शुरु हुने बैठकमा विवाद थप चर्किने सम्भावना छ

भारतीय प्रधानमन्त्रीका विशेषदूत श्यामशरणलाई छुट्टा छुट्टै भेटेको भन्ने विषयलाई लिएर एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्ड र बाबुराम भट्टराई पक्षबीच विवाद चर्किएको छ।

माओवादी नेता वर्षमान पुन अनन्तले शनिबार बीबीसी नेपाली सेवासँग भट्टराईले भारतीय दूतलाई एक्लै भेटेकोमा आपत्ती जनाउँदै स्पष्टीकरण दिनु पर्ने बताएपछि विवाद शुरु भएको हो।

लगत्तै भट्टराई पक्षले अध्यक्ष प्रचण्डले समेत विशेषदूतलाई भेटेको दावी गरेका छन्।

बीबीसीसँगको अर्को अन्तर्वार्तामा पोलिटब्युरो सदस्य राम कार्कीले भने, “दुबै नेताले अलग-अलग श्यामशरणलाई भेटेको हो। त्यसलाई विवादको मुद्दा बनाउनुको तुक छैन।

रहस्यमय

प्रचण्ड निकट पोलिटब्युरो सदस्य शक्ति बस्नेतले भने त्यस्तो दावी रहस्यमय भएको टिप्पणी गरे।।

उनले भने, “प्रचण्डले श्यामशरणलाई भेट्नु भएकै छैन। किन यसरी प्रचार गरिँदै छ हामी अचम्म छौँ।”

माओवादी केन्द्रिय समितिको बैठक बुधवारदेखि शुरु हुँदैछ।

भट्टराईले उक्त बैठकमा भारतीय दूतसँगको भेटको औचित्य सिद्ध गर्नु पर्ने बस्नेतले बताए

बोलाए

फर्किने बेला शरणले आफूलाई होटेलमा भेट्न बोलाएको कुरा प्रचण्डले आफ्ना निकटहरुलाई बताएका छन्।

तर उनी भेट्न नगएको बताउँदै प्रचण्ड निकट एक नेताले प्रचण्डकै भनाई उद्धृत गर्दै भने, “मैले भेट्ने भए मेरै घरमा आउ, होटलमा जान्न भन्ने जवाफ दिएर भेटन गइन।”

माओवादीभित्र भारत परस्तको आरोप-प्रत्यारोप नयाँ होइन।

प्रचण्ड पक्षले सशस्त्र संघर्षकाल र केही महिना अघि मात्रै पनि भट्टराईलाई भारत परस्त भएको आरोप लगाएको कुरा सार्वजनिक भएको थियो।

तर भट्टराईले त्यसलाई आफ्नो चरित्र हत्या गर्ने विरोधीहरुको प्रचारबाजीको संज्ञा दिने गरेका छन्।