भारतीय कर्मचारीको ‘धम्की’बारे ध्यानाकर्षण

  • 10 अगस्ट 2010
सुजाता कोइराला
Image caption 'धम्की'बारे भारतीय पक्षसँग कुराकानी भएको परराष्ट्र मन्त्रीको भनाइ छ

एकीकृत नेकपा माओवादीका एकजना सभासद्लाई भारतीय राजदूतावासका एक कर्मचारीले दिएको भनिएको धम्कीप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको कामचलाउ उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले जनाएकी छन्।

ती सभासद्लाई भारतीय कर्मचारीले दिएको भनिएको धम्कीका सम्बन्धमा मंगलबार संसदको एउटा समितिमा बोल्दै कोइरालाले सो जानकारी दिएकी हुन्।

भारतीय दूतावासले त्यस्तो धम्कीबारेका चर्चा आधारहिन भएको प्रतिक्रिया दिएको थियो।

तर माओवादी सभासदहरुले सो घटनालाई नेपालको आन्तरिक मामिलामा हस्तक्षेप भनेका छन्।

आरोप

तराई मधेस लोकतान्त्रिक पार्टीबाट एकीकृत माओवादीमा प्रवेश गरेका सभासद् रामकुमार शर्माले गत साता प्रधानमन्त्रीको चुनावमा प्रचण्डलाई भोट नहाल्न आफूलाई भारतीय राजदूतावासका एक कर्मचारीले दबाब र धम्की दिएको भन्ने आरोपले अहिले ठूलो चर्चा पाएको छ।

शर्मालाई भारतीय कर्मचारीले दिएको भनिएको धम्कीका सम्बन्धमा संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानव अधिकार समितिको आजको वैठकमा बोलाइएकी कामचलाउ उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले त्यस विषयमा भारतीय राजदूताबाससँग कुराकानी भइसकेको बताइन्।

"हामीले सोधेपछि भारतीय दूतावासले जवाफ पनि पठाएको छ, उस्ले यस्लाई आधारहिन भनेको छ।"

छानबिन

उनले सभासद् शर्मालाई आएको भनिएको धम्कीका सम्बन्धमा अब के गर्ने भन्ने विषयको छिनोफानो थप छानबिनपछि मात्र हुनसक्ने बताइन्।

त्यस विषयमा भारतीय दूतावासको ताजा प्रतिक्रिया लिन खोज्दा दूताबासका प्रवक्ता उपलब्ध भएनन्।

तर शर्माले सो धम्कीको फेहरिस्त सार्वजनिक गर्ने वितिक्कै भारतीय राजदूतावासले एउटा विज्ञप्ती जारी गर्दै, उस्कै शब्दमा, “त्यस्तो आधारहिन र गैरजिम्मेवार दोषारोपणलाई सम्मान नगरिने” प्रतिक्रिया दिएको थियो।

तर संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा मानवअधिकार समितिको वैठकमा बोल्दै माओवादी सभासदहरुले सभासदलाई धम्क्याउने भारतीय कर्मचारीलाई देश निकाला गर्नु पर्ने माग गरेका थिए।

चुली

सो समितिका सभापति पदमलाल विश्वकर्माले कुटनैतिक जिम्मेवारी लिएका भारतीय कर्मचारीको व्यवहारप्रति चिन्ता र खेद जनाइएको सन्दर्भमा भारतीय राजदूताबासले छानबिन गर्दै उनीविरुद्ध कारवाही गर्नुपर्ने बताए।

"यस विषयमा भारतीय राजदूतावासले छानबिन गर्नु पर्दछ।"

भारतीय कर्मचारीबाट शर्मालाई आएको भनिएको धम्कीपछि आन्तरिक रस्साकस्सीमा अलमलिएको नेपाली राजनीतिक बृत्तमा भारतीय हस्तक्षेपको चर्चा फेरि एकपटक चुलीमा पुगेको छ।