एमालेद्वारा सहमतिय सरकारमै जोड

  • 11 अगस्ट 2010
झलनाथ खनाल
Image caption सहमति नबने भदौ २ गतेअघि वैठक डाक्न एमाले नेतृत्वमाथि दबाब बढने देखिन्छ

नेकपा एमालको बुधबार बसेको केन्द्रिय समितिको वैठकले सहमतिय सरकार निर्माणको बाटो खोल्न एकीकृत माओवादी र नेपाली कांग्रेसलाई प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

प्रधानमन्त्री चयनको लागि भएका चार-चारवटा चुनावमा तटस्थ बसेको एमालेको पछिल्लो निर्णय, प्रधानमन्त्री चयनका लागि हुने पाँचौ चरणको चुनावको एक साता अघि आएको छ।

प्रधानमन्त्रीको चयनमा देखिएको लगातारको अनिर्णय तोड्ने विषयमा आन्तरिक विवाद चर्किरहेको भन्ने चर्चाकामाझ बसेको भएपनि, नेकपा एमालेको केन्द्रिय समितिको वैठकले अन्त्यमा, उस्कै शब्दमा, राष्ट्रिय सहमतिय सरकारको अपरिहार्यतामैं पुन: जोड दिएको छ।

‘अपरिहार्यता’

सो पार्टीका प्रचार विभाग प्रमुख प्रदिप ज्ञावालीका अनुसार सहमति निर्माणको निम्ति प्रधानमन्त्री पदका दुबै प्रत्यासी एकीकृत माओवादीका पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका रामचन्द्र पौडेललाई उम्मेदवारी फिर्ता लिन एमाले केन्द्रिय समितिले आग्रह गरेको छ।

“सहमतिय सरकारको सम्भावना अझै पनि सकिएको छैन, त्यसैले सहमति जुटाउँन हामीले सबै जिम्मेवार दलहरुलाई आग्रह गरेका छौं।”

सहमतिको आधार निर्माण गर्नको निम्ति नेकपा एमालेले एकीकृत माओवादीलाई कब्जा सम्पत्ती फिर्ता गर्न, वाइसीएलको सामूहिक बसाईको अन्त्य गर्न र सेना समायोजनमा सहमति जुटाउन सहमत हुन आग्रह समेत गरेको छ।

ज्ञावालीले भने, “शान्ति प्रक्रियाका बाँकी कामहरु सक्न माओवादी पनि जिम्मेवार हुनुपर्छ।”

असन्तुष्टी

तर दुबै पक्षले उम्मेदवारी फिर्ता नलिएमा भदौ २ गतेको चुनाव अघि फेरि केन्द्रिय समितिको वैठक डाक्नु पर्ने माग ३० जना केन्द्रिय समिति सदस्यले गरेको पोलिटब्युरो सदस्य खगराज अधिकारीले बताए।

तेस्रो ठूलो दल एमालेले ताजा सहमतिमा जोड दिएको भएपनि सबभन्दा ठूलो दल एकीकृत माओवादी र दोस्रो ठूलो दल नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिने कुनै संकेत दिइसकेका छैनन्।