भाजपाद्वारा नेपालमा ‘प्रजातान्त्रिक’ सरकारको चाहना व्यक्त

  • 14 अगस्ट 2010
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
Image caption भाजपाको भनाई गैह्रमाओवादी नेतृत्वको सरकार बनाउन बल पुर्याउने खालको छ

भारतीय जनता पार्टि (भाजपा) को पछिल्लो सुझाव कांग्रेस पार्टि नेतृत्वको भारतीय सरकारको वर्तमान नीतिलाई नै सहायक हुने ठानिएको छ।

उक्त दलका उच्च तहका नेताहरुको एउटा टोलीले बुधबार प्रधानमन्त्री मनमोहन सिंहलाई भेटि नेपालमा उनीहरुकै शब्दमा ‘प्रजातान्त्रिक’ बहुदलीय सरकार बनाउन भारतीय प्रयास केन्द्रित हुनुपर्ने बताएका थिए।

प्रष्ट शब्दमा माओवादी उल्लेख नगरेपनि भाजपाको संकेत गैह्रमाओवादी सरकारतर्फ लक्षित रहेको प्रष्टै छ।

भारतको हित

भाजपाका पूर्व अध्यक्ष राजनाथ सिंहको नेतृत्वमा नेताहरु विजय जोली तथा भगत सिंह कोसियारीले बुधबार प्रधानमन्त्री सिंहकै निवासमा उनीसंग भेट गरे।

उक्त भेटमा सामेल भाजपा नेता जोलीका अनुसार नेपालमा प्रजातन्त्रको बहाली, प्रजातान्त्रिक सरकारको निर्माण तथा शान्ति बहालीमा भारतको पनि हित निहित रहेको कुरामा प्रधानमन्त्रीको ध्यान आकर्षण गराइएको थियो।

भाजपा नेता जोलीका अनुसार प्रधानमन्त्री सिंह भाजपाको मुख्य चिन्ता र चासोसंग सहमत छन्।

माओवादीहरुप्रति कठोर प्रतिक्रिया दिने गरेको भाजपाले प्रधानमन्त्रीसंग माओवादीहरुबारे केही कुरा गर्‍यो कि भनी सोधिएको प्रश्नको जवाफमा जोलीले कुनै विशेष दलको बारेमा कुरा नभएको टिप्पणी गरे।

माओवादीहरु अझै पनि प्रजातान्त्रिक दल भइनसकेको धारणा राख्ने भाजपाले यसअघि नेपाली नेताहरुसंगको भेटमा नेपालमा माओवादीबाहेकको शक्तिको नेतृत्वमा प्रजातान्त्रिक बहुदलीय सरकार चल्नुपर्ने धारणा व्यक्त गर्दै आएको छ।

जानकारी माग

भाजपा टोलीले पूर्व विदेश सचिव श्याम शरणले हालै प्रधानमन्त्रीको विशेष दूतको रुपमा गरेको नेपाल भ्रमणका बारेमा पनि प्रधानमन्त्रीसंग जानकारी मागेको थियो।

प्रधानमन्त्री सिंहले सो भ्रमणपछि विशेष दूत शरणले सुनाएको राजनीतिक निष्कर्षहरु बारेमा पनि भाजपा टोलीलाई अवगत गराएको बताइएको छ।

शरण तिनै भारतीय कूटनीतिज्ञ हुन जसलाई भाजपाले आफ्नो शासन कालमा अन्य वरिष्ठ कर्मचारीहरु हुँदाहुँदै विदेश सचिवमा नियुक्त गरेको जानकारहरु बताउँछन्।

नेता जोलीका अनुसार प्रधानमन्त्री सिंहले नेपालमा प्रजातन्त्रको सुदृढिकरणका लागि भारत सरकारले गरिरहेको प्रयासबारे चाँडैनै विदेशमन्त्री एस एम कृष्णाले जानकारी गराउने आश्वासन दिएका छन्।

सम्बन्धित समाचार