तराई केन्द्रित दलहरु फेरि तटस्थ रहने संकेत

  • 14 अगस्ट 2010
सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतो
Image caption मोर्चा पाँचौ चरणको चुनावमापनि तटस्थै बस्ने सम्भावना बढि रहेको महतोले बताए

पाँचौं चरणको चुनाव आउन चारदिन मात्र बाँकि हुँदा मोर्चाका नेताहरुले उनीहरुको पुरानो निर्णयलाई परिवर्तन गर्ने स्थिति नबनेको बताएका छन्।

संसदको तेस्रो ठूलो दल नेकपा एमालेले सहमति नभए अर्को चुनावमा आफु तटस्थ बस्ने बताएको तीन दिन पछाडि चौथो ठूलो घटक संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले उस्तै निर्णय गर्‍यो।

मोर्चामा रहेको सदभावना पार्टिका अध्यक्ष राजेन्द्र महतोका अनुसार नेपाली कांग्रेस र एकिकृत नेकपा माओवादीले मोर्चाका माग चित्तबुझ्दो गरी सम्बोधन गरेका छैनन्।

“यही स्थिति रहे हामी फेरि तटस्थै बस्छौं,” महतोले भने।

एमालेको निर्णयले नेपाली कांग्रेसको जित असम्भव बनाइदिएको छ भने मोर्चाको निर्णयले माओवादीलाई धक्का दिएको छ।

स्थायी संयन्त्र

अढाई वर्ष अगाडिको तराई आन्दोलनताका गठन भएको उक्त मोर्चा बीचमा निष्क्रिय बनेको थियो।

प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिएपछि शुरु भएको नयाँ सरकार गठनको संसदीय कसरतसंगै मोर्चा फेरि सक्रिय भएको थियो।

त्यसमाथिपनि प्रधानमन्त्रीको चुनाव हुने दिनको संघारमा मात्रै मोर्चाको बैठक बस्ने अनि अरुबेला निष्क्रिय रहने आलोचना समेत उसले खेप्दै आएको थियो।

त्यसैको जवाफमा होला बुधबार बसेको बैठकले मोर्चालाई स्थायी संयन्त्रमा परिणत गर्ने निर्णय गर्‍यो।

सो निर्णय कार्यान्वयन गर्न चारैवटा दलको एउटा संयुक्त कार्यदल बनाइएको छ।

“उक्त कार्यदलले मोर्चाको आचार संहिता, कार्याविधि तथा संविधान निर्माणका क्रममा एकताबद्ध अडान राख्ने बारे टुंगो लगाउनेछ,” मधेशी जनाधिकार फोरम नेपालका नेता जेपी गुप्ताले बताए।

साउन २१ गते भएको चौथो चरणको चुनावपछि सहमतिको लागि भनेर दुई साता खाली राखेर भदौ २ गते पाँचौ चरणको मतदान तोकिएको थियो।

तर आजसम्मको स्थिति हेर्दा यी दुई साता खेर जाने सम्भावना बलियो छ।

सम्बन्धित समाचार