उम्मेदवारी फिर्ता लिन तयार: माओवादी

  • 16 अगस्ट 2010
माओवादी नेताहरू
Image caption पदाधिकारी बैठकपछि माओवादीले एमालेलाई तीनबुँदै पत्र पठाएको हो

राष्ट्रिय सहमति तयार हुने विश्वसनीय आधार आफूले पाएमा प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन एकीकृत नेकपा माओवादी तयार देखिएको छ।

प्रधानमन्त्रीको पाँचौ चुनाव हुनु दुई दिनअघि नेकपा एमालेलाई पठाएको पत्रमार्फत उसले त्यस्तो जनाउ दिएको हो।

तर तीन बुँदे पत्रमा राष्ट्रिय सहमतिका आधारहरुबारे खुलाइएको छैन।

जिकिर

एमालेले माओवादीलाई उम्मेदवारी फिर्ता लिन साउन २७ गते पत्र मार्फत आग्रह गरेको थियो।

माओवादीले पठाएको जवाफमा आफ्नै पार्टीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउनु ‘सर्वाधिक उपयुक्त’ हुने उल्लेख गरेको छ।

त्यसको निम्ति समर्थन गर्न सबै पार्टीलाई उसको अपिल छ।

पत्रमा जिकिर गरिएको छ, “त्यसबाट शान्ति र संविधान निर्माण प्रकृयालाई सफल पार्न सहज एवं अनुकुल परिस्थिति तयार हुन्छ।”

तर त्यही पत्रको पुछारको अनुच्छेद सत्ता संघर्ष र हानथाप चलिरहेको बेला ‘सहमति भै पो हाल्छ कि’ भन्ने झिनो आशा जगाउने खालको लाग्दछ।

प्रचण्डले लेखेको पत्रमा छ, “सहमति भएमा वा निर्वाचनपछि सहमति कायम गर्ने विश्वसनिय प्रतिवद्धता पाएमा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन तैयार रहेको जानकारी गराउँछु।”

भित्रि अर्थ

आफूलाई सहमतिको सरकारको उचित हकदार ठान्ने एमाले र नेपाली कांग्रेस त्यो अवसर माओवादीलाई नदिनेमा एकजुट छन्।

त्यो कुरा राम्ररी बुझेको माओवादी चुनाव अघि नै मैदान छाड्न तयार देखिएको छ।

तेश्रो बुँदाको आशय अर्थ्याउँदै माओवादी प्रवक्ता दीनानाथ शर्माले भने, “हामी चुनावको अघि पनि प्रधानमन्त्रीको उम्मेदवारी छोड्न लचिलो छौं भन्ने नै पत्रको मूल आशय हो।”

तर आफूले उम्मेदवारी फिर्ता लिँदा प्रतिष्पर्धी पौडेलले पनि फिर्ता लिनु पर्ने हो वा होइन भन्नेबारे पनि पत्र मौन छ।