प्रधानमन्त्रीको चुनाव सार्न तीन दलबीच सहमति

  • 17 अगस्ट 2010
संविधानसभामा सभासदहरु
Image caption चुनाव सार्ने निर्णय संसदको कार्यव्यवस्था परामर्श समितिले गर्नेछ

तीन मुख्य ठूला दल बुधवार हुन लागेको प्रधानमन्त्रीको पाँचौं चुनाव अर्को साता गर्ने गरी सार्ने निर्णय गरेका छन्।

प्रधानमन्त्रीको प्रतिष्पर्धामा रहेका एकिकृत नेकपा माओवादी र नेपाली कांग्रेस तथा तेश्रो ठूलो दल नेकपा एमालेका प्रमुख सचेतक र सभामुख सुवासचन्द्र नेम्वाङ्बीच भएको छलफल त्यस्तो निष्कर्षमा पुगेको हो।

विगतका चारवटा चुनावमाभन्दा राजनीतिक समिकरणमा कुनै फेरवदल नआएकाले पाँचौं चुनाव पनि प्रधानमन्त्री छान्न सफल हुनेमा धेरैलाई शंकै थियो।

निंहु

चुनावी विफलताको श्रृँखलामा नयाँ कडि थपिने ठानिएको उक्त चुनाव सार्न माओवादी सभासद रामकुमारी यादवको निधनलाई कारण बनाइएको छ।

उनीप्रति शोक प्रस्ताव पारित गर्दै चुनावको निम्ति डाकिएको संसद बैठक सारिने कांग्रेसका प्रमुख सचेतक लक्ष्मण घिमिरेले बताए।

उनले भने, “बुधवार मतदान नगरौं भन्ने माओवादीका साथीहरुले प्रस्ताव अनुसार सार्ने सहमति भएको छ।”

त्यसको औपचारिक निर्णय बुधवार हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले गर्ने बताइएको छ।

एमालेका प्रमुख सचेतक भीम आचार्यले भने, “चुनाव सार्ने माओवादीको प्रस्तावमा हामीलाई त्यति धेरै आपति नभएकाले अर्को चुनाव ६ गते हुन्छ होला।”

माओवादीका प्रमुख सचेतक पोष्टबहादुर बोगटीसंग सम्पर्क हुन सकेन्।

सचेतक जयपुरी घर्तीले चुनाव सार्ने सहमति भएको र त्यसको टुंगो बुधवार लगाइने जानकारी दिइन्।

घट्दो चासो

चुनावमा निर्णायक स्थितिमा रहेका एमाले र तराई केन्द्रित पार्टीहरुले तटस्थ बस्ने अडान परिवर्तन गरेका छैनन्।

शुरुकै दिन उम्मेदवारी फिर्ता लिएको एमालेले प्रधानमन्त्रीका दुई प्रतिष्पर्धी माओवादी र कांग्रेसलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरेको छ।

तर राष्ट्रिय सरकार गठन निश्चित नभइसकेको भन्दै ती दुबै दल चुनावी मैदान खाली गर्न तयार देखिंदैनन्।

मुलुकलाई अनिर्णयको बन्दी बनाएको अपगाल खेपिरहेको एमाले र हारको किर्तिमान बनाउने फन्दामा परेका माओवादी र कांग्रेसलाई चुनाव सरेमा सहमति जुटाउन थप समय मिल्ने छ।

तर त्यो अवधिमा पनि सहमति जुटाउन सक्ने आशा सर्वसाधारणमा जगाउन उनीहरु विफल देखिएका छन्।

त्यसैले प्रधानमन्त्रीको महत्वपूर्ण चुनावप्रति धेरैको चासो घट्दै गएको पाइन्छ।