प्रधानमन्त्रीको पाँचौं चुनाव सोमवार सर्‍यो

  • 18 अगस्ट 2010
संविधानसभा भवन
Image caption चुनाव सारिएको अवधिलाई सहमति खोज्न उपयोग गर्ने नेताहरुको भनाई छ

प्रधानमन्त्री छान्नका लागि पाँचौ पटक बुधवारका निम्ति तोकिएको चुनाव पाँच दिन पछाडी सारिएको छ।

एकिकृत नेकपा माओवादीकी सभासद रामकुमारी यादवको निधनमा शोक प्रस्ताव पारित गर्दै प्रधानमन्त्रीको चुनाव आउँदो सोमवार सारिएको हो।

त्यस अवधिलाई सहमतिको निम्ति अधिकतम उपयोग गर्ने नेताहरुले जनाएका छन्।

तर कतिपय विश्लेषकहरुले उनीहरुबीच रहेको मतभेदको पर्खाल सजिलै ढल्ने छाँट देखेका छैनन्।

विकल्प

तराई केन्द्रित दलहरुले समर्थन दिए चुनाव जित्ने स्थितिमा रहेको माओवादी नै सरेको चुनावले पनि निष्कर्ष दिनेमा आशावादी देखिएन।

माओवादी सचिव सीपी गजुरेलले भने, “फेरी पनि दुबै उम्मेदवारले जित्ने सम्भावना देखिन्न्।”

उक्त चुनावपछि आफ्नो दलले चुनावी प्रकृया फेर्ने प्रयास गर्ने उनको भनाई थियो।

तर नेपाली कांग्रेस प्रकृया फेर्ने पक्षमा छैन।

बरु चुनावी अवरोध फुकाउन एमालेले तटस्थ बस्ने निर्णय फेर्नु पर्ने र राष्ट्रिय सहमतिको निम्ति माओवादीले जेठ चौध गतेको सहमति कार्यान्वयन गर्नु पर्ने उसको अडान छ।

फरक मुद्दा

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले भने, “शान्ति प्रकृया र नयाँ संविधानका लागि सहमति नगरी सरकारमा सबै दल सहभागि हुने प्रकृयाको खोजि अनौठो र व्यर्थ हो।”

नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पनि त्यो तर्कमा दम देखेका छन्।

उनले भने, “लडाकूको समायोजन र पुनर्स्थापना गरी माओवादी निशस्त्र नागरिक पार्टीमा रुपान्तरित हुनु पर्ने र नयाँ संविधानका असहमति जस्ता विषयमा सहमति अनिवार्य छ।”

माओवादी र कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेको एमालेको बिहिवारदेखि हुने केन्द्रिय कमिटीको बैठकमा तीनै मुद्दामा केन्द्रित हुने नेता ज्ञवालीको भनाई छ।