‘पाँचौं चुनावपछि एमाले तटस्थ नबस्ने’

  • 19 अगस्ट 2010
एमाले अध्यक्ष झलनाथ खनाल
Image caption तटस्थ बस्ने निर्णय फेर्न पार्टीभित्रैबाट एमाले नेतृत्वमाथि दवाव छ

नेकपा एमालेका एकजना वरिष्ठ नेताले सोमवार हुने प्रधानमन्त्रीको पाँचौं चुनाव पनि विफल भएमा त्यसपछि हुने अर्को चुनावमा आफ्नो पार्टी तटस्थ नबस्ने मनस्थितिमा पुगेको बताएका छन्।

पाँचौं चुनावमा पनि तटस्थ नै बस्ने अडानमा रहेको एमालेका प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बीबीसीसँगको कुराकानीमा त्यस्तो खुलासा गरेका हुन्।

तर त्यस्तो निर्णय लिनुअघि राष्ट्रिय सहमतिको निम्ति अन्य दलहरुसँग निर्णायक वार्ता गर्ने उनको भनाई छ।

नेता ज्ञवालीले भने, “शनिवार बोलाइएको पोलिटब्युरोको बैठकले वार्तामा पेश गर्ने सहमतिको आधारपत्र तयार गर्ने छ।”

विकल्प

आधारपत्र मूलरुपमा नयाँ संविधान लेखनमा देखिएका मतभेद र शान्ति प्रकृयाको विषयमा केन्द्रित हुने बताइएको छ।

सहमतिको सम्भावित विकल्पबारे अर्का एमाले नेता खगराज अधिकारीले भने, “सहमतिको बाधक बनेको हतियार र लडाकूबाट माओवादी अलग हुनुपर्छ।”

त्यसो गर्न ढिलो हुने भए त्यो काम पुरा भएपछि माओवादीलाई नेतृत्व दिने गरी अहिलेलाई अर्कै दलको नेतृत्वमा सरकार बनाउन सकिने विकल्प उनले देखेका छन्।

ती सहितका विकल्पमा छलफल हुँदा पनि सहमति हुन नसके एमालेले नयाँ रणनीति अंगाल्ने छ।

कठोर

“वार्ताको सबै विवरण र सहमतिको बाधक को देखियो भन्ने कुरा जनतालाई भन्ने छौँ”, नेता ज्ञवालीले भने, “मुलुकलाई अनिर्णयको स्थितिमा राख्न नमिल्ने भएकाले कठोर निर्णय लिनेछौँ।”

राष्ट्रिय सहमतिलाई दवाव दिन भन्दै तटस्थ बस्ने निर्णय गरेको एमालेले बहुमतको सरकारको बनाउन माओवादी वा कांग्रेस मध्ये एउटालाई रोज्नु पर्ने निर्णयलाई उनले कठोर भनेका हुन्।

तर सहमतिको सरकारको सम्भावना जीवित रहेको र त्यसको निम्ति भरमग्दुर प्रयत्न गर्ने उनको भनाइ थियो।