‘भर्ती विवादबारेको छलफल सेनालाई अस्वीकार्य’

  • 20 अगस्ट 2010
नेपाली सेनाका जवान
Image caption नेपाली सेनाले जेएमसीसीको औचित्यमाथि प्रश्न उठाइरहेको छ

नेपाली सेनाले राष्ट्रसंघीय विशेष मिसन अन्मिनको नेतृत्वमा रहेको संयुक्त अनुगमन समन्वय समिति (जेएमसीसी) को बैठकमा सैन्य भर्तीबारेको छलफलमा सहभागि नहुने रणनीति बनाएको छ।

सैन्य भर्ती रोक्न एकिकृत नेकपा माओवादीले अन्मिनको नेतृत्वमा आफू सहित सेनाका प्रतिनिधि रहेको जेएमसीसीमा कुरा उठाउने तयारी गरिरहेकै बेला नेपाली सेनाका प्रवक्ताले त्यस्तो अडान सार्वजनिक गरेका हुन्।

नेपाली सेनाले खोलेको नयाँ भर्तीप्रति माओवादीले झैँ अन्मिनले पनि आपत्ती जनाउँदै विवादको टुंगो जेएमसीसीबाट लगाउन आग्रह गरेको थियो।

तर बीबीसीसंग कुरा गर्दै सैनिक प्रवक्ता सहायक रथी रमिन्द्र क्षेत्रीले भने, “त्यसप्रति असहमति जनाउँदै त्यस्तो छलफल प्रकृयामा सरिक हुने छैनौं।”

तर्क

हालै सर्वोच्च अदालतले सैन्य भर्ती विवाद आफ्नो कार्यक्षेत्रभित्र नपर्ने भन्दै सरोकारवालाहरु संलग्न जेएमसीसीबाट किनारा लगाउने सकिने बाटो देखाएको थियो।

तर प्रवक्ता क्षेत्री सर्वोच्च अदालतको फैसलालाई विवाद लिएर जेएमसीसीमा जाउँ भन्ने अर्थमा बुझ्न नमिल्ने बताउँछन्।

उनको तर्क छ, “सरकारको निर्णय अनुसार सेनाले भर्ती खोलेको हो। सरकारको निर्णयबारे छलफल गर्ने थलो जेएमसीसी होइन्।”

अन्मिनले सेनाबाट त्यस्तो धारणा आफूलाई विधिवत रुपमा जानकारी नगराइएको बताएको छ।

तर माओवादी लडाकूका डेपुटी कमाण्डर चन्द्रप्रकाश खनाल बलदेबले भने, “विषय प्रवेश नै हुन नदिए हामीले पनि नयाँ निर्णय लिन्छौं।”

माओवादीमा सैन्य फाँट हेर्दै आएका स्थाई समिति सदस्य वर्षमान पुन अन्न्तले जेएमसीसीमा सेनाको प्रतिकृयापछि त्यसबारे सरकारसँग कुरा गर्ने प्रतिकृया दिए।

चुनौती

सेनाले ३ हजार पदका लागि भर्ना खोलेको दुईसाता वितिसक्दा पनि जेएमसीसीको बैठक हुन सकेको छैन।

शुक्रवारको बैठक सेनाको व्यस्तता देखाउँदै गरेको आग्रहमा एकसाता पर सारिएको छ।

विगतमा सेनाले खोलेका भर्तीप्रति माओवादीले जेएमसीसी बैठकमा आपत्ती जनाउने गरेको थियो।

बरु सेनाले त्यसको प्रतिवाद गर्दै भर्ती पुरा गर्दै आएको छ।

तर अब छलफलमा सरिक नहुने सेनाको नयाँ रणनीतिलाई कतिपयले अन्मिन लक्षित उसको असन्तुष्टीयुक्त चुनौती ठानेका छन्।