प्रधानमन्त्रीको छैठौं चुनाव भदौ २० गते

  • 23 अगस्ट 2010
संविधानसभा संसदमा सभासदहरु
Image caption एमाले र तराईका पार्टी तटस्थ बस्नाले संसदले प्रधानमन्त्री छान्न नसकेको हो

पाँचौं पटक भएको चुनाव पनि प्रधानमन्त्री छान्न विफल भएपछि अर्को चुनाव भदौं २० गते तोकिएको छ।

दलहरुबीच सहमति जुटाउने समय पर्याप्त होस भनेर छैठौं मतदान त्यति टाढा सारिएको नेताहरुले जनाएका छन्।

नेकपा एमाले र तराई केन्द्रित पार्टीहरु तटस्थ बसेकाले एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल दुबैले पाँचौं पटक हार व्यहोरेका हुन्।

दुबै प्रतिष्पर्धीले विगतमा जस्तै मुख्य गरी आफ्नै पार्टीको मत मात्र पाएका थिए।

त्यसपछि सभामुख सुवासचन्द्र नेम्वाङले आवश्यक बहुमत जुटाउन दुबै उम्मेदवार विफल भएको घोषणा गरेका थिए।

सम्भावना

बहुमतको सरकार बनाउन नसघाउने निर्णय गर्दै एमाले शुरुदेखि तटस्थ बसेकाले पौडेलले जित्ने सम्भावना थिएन।

तराई केन्द्रित पार्टीहरुले समर्थन गरेको भए प्रचण्डको सम्भावना भने ज्युँदै थियो।

तर उनीहरु समेत तटस्थ नै बसिदिएपछि प्रचण्डको निम्ति पनि सिंहदरवारको ढोका बन्द हुन पुगेको हो।

राष्ट्रिय सहमतिको सरकार गठनको निम्ति दवाव सृजना होस भनेर तटस्थ बसिरहेको तर्क एमालेको छ।

तर उसकै अडानले देश अनिर्णयको बन्दी बन्न पुगेको भन्दै कतिपयले त्यसको आलोचना गरिरहेका छन्।

अर्को चुनाव टाढै धकेलिएपछि काम चलाउ सरकारको आयु अहिलेको निम्ति कम्तिमा दुई महिनाभन्दा बढी लम्बिने भएको छ।