राजतन्त्र छिट्टै फर्किने पूर्वयुवराजको विश्वास

  • 24 अगस्ट 2010
पूर्वयुवराज पारश शाह
Image caption पारश शाह युवराज हुँदा र त्यसअघि थुप्रै विवादास्पद घट्नासंग जोडिने गरेका थिए

पूर्व युवराज पारस शाहले विदेशी चलखेल नहुने हो भने परिमार्जित किसिमको राजतन्त्र छिट्टै फर्किने विश्वास व्यक्त गरेका छन्।

प्रमुख दलहरुबीचको सत्ता संघर्षका कारण राजनीतिक संकट बढ्दै गएका बेला उनको त्यस्तो धारणा सार्वाजनिक भएको छ।

पोखराको स्थानिय टेलिभिजनले सोमवार लिएको उनको अन्तर्वार्ता एभिन्युज टेलिभिजनले मंगलवार प्रशारण गरेको थियो।

विदेशी खेल

त्यसमा उनले गणतन्त्र स्थापना मुख्य रुपले विदेशी शक्ति केन्द्रका कारण भएको टिप्पणी गरेका छन्।

उनले भने, “जनताले परिवर्तन चाहेका थिए। तर त्यो परिवर्तन विदेशीको खेलबाट भएको हो।”

पूर्व युवराज पारसले विगतमा राजसंस्था समयानुकुल चल्न नसकेको प्रष्ट शब्दमा स्वीकार गरेका छन्।

विगतमा राजसंस्था र जनताबीच अवरोध गरिएको उनको भनाई छ।

त्यसैले उनले जनताले परिमार्जित राजसंस्थाको खाँचो महसुस गरेको बताए, “हाम्रो खुबीले नभई परिस्थितिले अब जनता फेरी राजसंस्थाप्रति आस्थावान हुँदै कुनै न कुनै रुपमा फर्काउनु पर्छ भन्ने चाहन्छन्। तर राजसंस्था पनि अलिकति परिवर्तन हुनुपर्छ।”

फर्किने विधि

आफूलाई राजा बन्ने कुनै मोह नभएको उनको भनाई छ।

राजसंस्था फर्किन समयसीमाबारे शाहले भने, “विदेशीले चलखेल गर्ने हो भने समय लाग्छ, नेपाली-नेपालीले गर्ने हो भने समय लाग्दैन।”

राजतन्त्र पुनस्थापनाको प्रकृयाबारे उनी प्रष्ट खुलेनन्।

गणतन्त्र स्थापनाको विधिप्रति चुनौतिपूर्ण प्रश्न तेर्स्याउँदै उनले भने, “कानूनी र सम्वैधानिक रुपमा नभई राजतन्त्र राजनीतिक निर्णयबाट हटाइयो। त्यही निर्णयको आधारमा राजसंस्था फर्काउन सकिन्छ कि सकिन्न? कि जनमत संग्रहमै जानुपर्छ?”

माफी

शाह युवराज हुँदा र त्यसअघि थुप्रै विवादास्पद घटनासंग जोडिने तत्कालीन राजपरिवार भित्रका एक सदस्य हुन्।

त्यसप्रसंगमा उनले भने, “आफ्नो कमजोरी नभई अरुले आरोप लगाउन सक्दैन। मेरो पनि केही कमजोरी थियो होला। त्यस्तो थियो भने मलाई माफ गर्नुस् भनेर जनतासँग माफी मागी सकेको छु।”

राजतन्त्र अन्त्य गरेको संविधानसभा प्रधानमन्त्री छान्न र नयाँ संविधान लेख्न विफल हुँदै जांदा पूर्व युवराजको सार्वजनिक सक्रियता बाक्लिएको छ।

सबैभन्दा ठूलो दल एकिकृत नेकपा माओवादी नेपालको आन्तरिक राजनीतिमा भारतको हस्तक्षेप निकै बढेको ठम्याइमा पुगेका बेला उनले त्यससँग मिल्दो धारणा सार्वजनिक गरेका छन्।

विश्लेषकहरुका अनुसार उनको सक्रियतालाई एकथरीले धमिलो पानीमा माछा मार्ने प्रयासको रुपमा हेर्नछन्।

अर्काथरीले भने उनको अभिव्यक्तीलाई जनआन्दोलनबाट आएको परिवर्तनको चारवर्षे यात्राबाट दिक्दार हुन पुगेका जनताको मनको कुरा बोलेको रुपमा अर्थ्याउनेछन्।