माओवादी नयाँ रणनीति तय गर्न व्यस्त

  • 25 अगस्ट 2010
माओवादी नेताहरु
Image caption माओवादी केन्द्रिय समितिको वैठकलाई धेरैले चासोपूर्वक हेरिरहेका छन्

पाँच चरणसम्म प्रधानमन्त्री चुन्नका लागि भएका मतदान अनिर्णित भएपछि सबै भन्दा ठूलो दल एकीकृत माओवादीले नयाँ रणनीति बनाउनको निम्ति आन्तरिक छलफल शुरु गरेको छ।

तर सो दलको केन्द्रिय समितिको वैठकमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन संगै दुईजना उपाध्यक्षहरुले पनि छुट्टा छुट्टै प्रस्तावहरु पेस गरेपछि माओवादी भित्रको आन्तरिक विवाद चर्किने संम्भावना बढेको छ।

एकीकृत माओवादीको केन्द्रिय समितिको वैठकमा बुधबार अध्यक्ष प्रचण्डले तीन ‘स’ अर्थात सडक, सदन र सरकारमा जोड दिदै आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रचण्डको प्रतिवेदनले तीनवटा ‘स’ को प्रयोग गर्दै शान्ति र संविधान निर्माणमा लाग्नु पर्ने उल्लेख गरेको सो दलका प्रवक्ता दिनानाथ शर्माले बताए।

तीन ‘स’

“‘स’ मा सरकार बनाउन संविधान निर्माण गर्न सहमति भन्ने पनि पर्छ।”

माओवादी भित्र राजनीतिक कार्यदिशा, सरकार निर्माण, भारत नीति लगायतका विषयमा तिब्र मतभेद रहेको चर्चाकाबीच, उपाध्यक्षद्वय मोहन वैद्य किरण र बाबुराम भट्टराईले पनि छुट्टा छुट्टै प्रस्ताव दर्ता गराएका छन्।

उपाध्यक्ष भट्टराईले शान्ति प्रक्रिया र संविधानसभाका उपलब्धीहरुलाई संस्थागत गर्दै अघि बढ्नु पर्नेमा जोड दिदै आएका छन्।

अर्का उपाध्यक्ष किरणले जनविद्रोह गर्दै जनगणतन्त्र स्थापना गर्नु पर्ने बताउने गरेका छन्।

‘जनगणतन्त्र’

अध्यक्षको राजनीतिक प्रतिवेदनका अतिरिक्त दुईजना उपाध्यक्षहरुले अलग अलग प्रस्ताव प्रस्तुत गरेका कारण केन्द्रिय समितिमा विवाद बढ्ने अडकल तिब्र भएपनि उपाध्यक्ष किरणले ती प्रस्तावहरुले दलको निर्णयलाई एकीकृत गर्न सघाउ पुर्‍याउने बताए।

“जनगणतन्त्र भनेको जनताको गणतन्त्र हो, त्यो त हामीले पहिला देखि नै भन्दै आएका छौं।

त्यस्मा कुनै विवाद छैन।”

अर्कोतिर प्रधानमन्त्री चयनका लागि भएका मतदानमा तटस्थ बस्दै आएको तेस्रो ठूलो दल नेकपा एमालेले आफूले तयार पारेको सहमतिको आधारपत्रमाथि अन्य दलहरुसँग छलफल थालेको छ।

अडान

सोही क्रममा नेकपा एमालेले बुधवार नेपाली कांग्रेससँग कुराकानी गरेको छ।

वार्ता सकारात्मक रहेको भनिएपनि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिनुपर्ने भन्ने एमालेको प्रस्ताव नेपाली कांग्रेसले अस्विकार गरेको कांग्रेस प्रवक्ता अर्जुन नरसिंह केसीले बताए।

सो दलले सबै विषयमा सहमति नभएसम्म उम्मेदवारी फिर्ता नलिने अडान लिएको छ।