सेनालाई पीडाबाट मुक्त गर्नुपर्छ: प्रम

  • 27 अगस्ट 2010
पुष्पकमल दाहाल प्रचण्ड
Image caption प्रधानमन्त्रीसंगको भेटमा प्रचण्डले सेनापति र राष्ट्रपतिको ‘सक्रियता’प्रति चिन्ता जनाएका थिए

कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले, माओवादी अध्यक्ष प्रचण्डसंग शुक्रबार भएको भेटमा अन्मिनको निगरानीमा बस्नुपर्ने नेपाली सेनाको वर्तमान अवस्था पीडादायी भएको भन्दै त्यसबाट सेनालाई मुक्त पार्नु पर्ने बताए।

छैटौं पटक थपिएको म्याद सकिन तीन सातामात्रै बाँकि रहेको बेला अन्मिन र उसकै अध्यक्षतामा गठित संयुक्त अनुगमन समन्वय समिति जेएमसीसी चर्को विवादमा परेका छन्।

मुक्ति

कतिपय कोणबाट अन्मिनको म्याद थप्न नहुने भनाईहरु आइरहँदा कामचलाउ प्रधानमन्त्रीसंग माओवादी अध्यक्ष प्रचण्डले भेटेका थिए।

भेटपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकारले जारी गरेको विज्ञप्ति अनुसार प्रधानमन्त्री नेपालले, नेपाली सेनालाई सँधैभरी ब्यारेकमा मात्रै रहने अवस्थाबाट अविलम्ब मुक्त गर्नुपर्नेमा जोड दिए।

जसको सोझो अर्थ हुन्छ हाल माओवादी सेना जस्तै अन्मिनको अनुगमनमा रहेको नेपाली सेनालाई त्यसबाट मुक्त पार्नु।

“नेपाली सेनालाई अनुगमनमा राखिराख्नुपर्ने अवस्था छैन। एउटा राष्ट्रिय सेनाको रुपमा संविधान अनुसार जे गर्न पाउने हो त्यो उसलाई गर्न दिनु पर्छ भन्ने प्रमको भनाई हो,” प्रधानमन्त्री माधवकुमार नेपालका प्रमुख राजनीतिक सल्लाहकार रघुजी पन्तले बताए।

प्रतिवाद

तर माओवादी नेताहरुले शान्ति प्रक्रिया पूरा नहुञ्जेल अहिलेकै कार्यादेश सहित अन्मिनको म्याद थप्नु पर्ने भनाई राखेका छन्।

बिहान प्रधानमन्त्रीसंग भेटेपछि माओवादी नेताहरुले अन्मिनको म्याद थपबारे दिउँसो सुरक्षा परिषदका स्थायी सदस्य राष्ट्रहरु सहितका विदेशी राजदूतहरुसंग समेत छलफल गरे।

ती दुवै भेटमा संलग्न माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार आगामी साता सुरक्षा परिषदको बैठक बस्न लागेको हुनाले अन्मिनको म्याद थप गर्नुपर्ने कुरा राख्न राजदूतहरुसंगको सो बैठक डाकिएको थियो।

“हाम्रो भनाई के हो भने शान्ति प्रक्रिया पूरा नहुञ्जेल अन्मिनको कार्यादेश परिवर्तन गर्न हुन्न। साथै, उसको म्याद ६ महिना थप्न सरकारले चिठि लेख्नुपर्छ,” श्रेष्ठले भने।

आशंका

बिहानको भेटमा, प्रचण्डले, राष्ट्रपतिले सक्रिय हुन खोजेको हो कि भन्ने आशंका उब्जिएको भन्दै प्रष्ट पार्न गरेको आग्रहप्रति, प्रधानमन्त्रीले त्यस्तो आशंका नपाल्न बताएको प्रेस विज्ञप्तिमा उल्लेख छ।

बरु, प्रधानमन्त्रीले सांस्कृतिक राजतन्त्रको कुरा उठाइएकोप्रति माओवादी नेताहरुसंग असन्तुष्टि व्यक्त गरे।

“धमिलो पानीमा माछा मार्न खोज्ने प्रयासहरुप्रति दलहरु सजग हुनुपर्छ भन्नेमा प्रधानमन्त्रीको जोड थियो,” पन्तले भने।

राजीनामा दिएको दुई महिनासम्म पनि कामचलाउ रहेका प्रधानमन्त्री नेपाल र उनको राजीनामाको माग प्रखर ढंगले राखेका प्रचण्डबीचको शुक्रबारको भेटघाटको धेरै समय एक अर्काबीच आरोप प्रत्यारोपमै वितेको भान उक्त पेस विज्ञप्तिले दिएको छ।

त्यसलाई संकेतको रुपमा लिने हो भने आगामी सातासम्म लिनुपर्ने अन्मिनको म्याद थप वा कार्यादेश परिवर्तन सम्बन्धी निर्णय सहज नहुने प्रष्ट छ।

सम्बन्धित समाचार