राष्ट्रपतिद्वारा चाँडो सहमति गर्न नेताहरुलाई आग्रह

  • 28 अगस्ट 2010
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
Image caption प्रधानमन्त्रीसंगको भेटमा प्रचण्डले राष्ट्रपतिको ‘सक्रियता’प्रति आशंका व्यक्त गरेका थिए

दुई महिनासम्म नयाँ प्रधानमन्त्री चुन्न नसकेपछि राष्ट्रपति रामवरण यादवद्वारा शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरुसंग सामूहिक भेट गरेका थिए।

नयाँ सरकार गठनमा ढिलाई भएकोमा देश र जनताले दुख पाएको चिन्ता उनले राखेको उनका सल्लाहकारले बताएका छन्।

“निकास चाँडो निकाल्नुपर्छ। देश र जनताले दुख पाउनु हुँदैन भन्ने राष्ट्रपतिको भनाई थियो,” राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बताए।

अन्योल जारी

उक्त भेटपछि सम्वाददाताहरुसंग बोल्ने क्रममा नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले बताएका कुराहरुले भने छलफल फलदायी भएको छनक दिएन।

“सबै नेताहरुले आ आफ्नै धारणाहरु राख्नुभयो। छलफलबाटै सहमति निकाल्नुपर्छ भन्ने कुरा गर्‍यौं,” खनालले भने।

शनिबार काठमाण्डौंको एउटा सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपालले भनेको कुरा नेता खनालकै भनाईलाई बल पुग्ने खालको थियो।

प्रधानमन्त्री नेपालका अनुसार कुनै चमत्कार नभए आगामी मतदानबाट समेत नयाँ प्रधानमन्त्री चुनिने लक्षण देखिएको छैन।

पाँच पटकको प्रयास विफल भएपछि नयाँ प्रधानमन्त्री चुन्न छैटौं पटकको मतदान भदौ २० गतेको लागि तोकिएको छ।

‘गुनासो’ गरेनन्

राष्ट्रपति सक्रिय भएको भन्दै प्रधानमन्त्रीसंग गुनासो गरेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपतिसंगको भेटमा भने उक्त कुरा उठाएनन्।

राष्ट्रसंघीय निकाय अन्मिनको म्याद थपको विषयबारे छलफल गर्न गएका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति सक्रिय भएको भन्दै प्रधानमन्त्रीसंग शुक्रबारको भेटमा आशंका व्यक्त गरेका थिए।

तर शनिबार राष्ट्रपति स्वयंसंगको भेटमा भने उनले त्यस्तो कुनै कुरा नउठाएको राष्ट्रपतिका एकजना सल्लाहकारले बताएका छन्।

“त्यस्तो कुनै कुरा उठेन,” राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले बीबीसीलाई बताए।

दाहालका अनुसार राष्ट्रपति स्वयं पनि अन्मिनको म्याद थपबारेको मुद्दामा नेपाली सेनाका सेनापतिले दलहरुसंग गरेको भेटघाटप्रति सन्तुष्ट छैनन्।

“यस्तो काम त राजनीतिक तहबाटै हुनुपर्छ भन्ने राष्ट्रपतिको भनाई छ,” उनले भने।

राजनीतिक गतिरोध लम्बिएपछि राष्ट्रपति रामवरण यादवद्वारा शनिबार प्रमुख तीन दलका शीर्ष नेताहरुसंग गरेको सामूहिक भेटमा प्रचण्ड गएका थिए।

आशंका

नयाँ सरकार गठनमा ढिलाई भएकोमा चिन्ता प्रकट गर्ने गरेका राष्ट्रपतिप्रति माओवादी नेताहरुले बेला बेला आशंका गर्ने गरेका छन्।

शनिबार पनि मुख्य गरि आफ्नो पुरानो चिन्ता जनाउननै राष्ट्रपतिले शीर्ष नेताहरुसंग भेट गरेका थिए।

करीब डेढ वर्ष अगाडि सेनापतिलाई हटाउने विषयमा राष्ट्रपतिसंग कुरा नमिलेपछि माओवादीले सरकारमात्रै छाडेन राष्ट्रपतिद्वारा प्रतिगमन भएको भन्दै सडक समेत ततायो।

सडक तातेसंगै चिसिएको माओवादी र राष्ट्रपतिको सम्बन्ध केही समय यता गर्माउँदै आएको थियो।

शुक्रबार अकस्मात प्रचण्डले प्रधानमन्त्रीसंग राष्ट्रपतिबारे गुनासो गरेपछि यो मुद्दा ब्यूँझिएको हो।

सम्बन्धित समाचार