फोहर लैजान 'आवश्यक परे बल प्रयोग' गरिने

  • 1 सेप्टेम्बर 2010

काठमाण्डूको फोहर व्यवस्थापन गरिने आलेटार ल्याण्डफिल साइट क्षेत्रमा स्थानीय समुहहरुको अवरोध पन्छ्याएर फोहरमैला व्यवस्थापन गर्न आवश्यक परे बल समेत प्रयोग गरिने सोच अधिकारीहरुले बनाएका छन्।

फोहरमैला व्यवस्थापन गर्ने जिम्मा पाएको फोहरमैला तथा स्रोत परिचालन केन्द्रकी महाप्रवन्धक डाक्टर सुमित्रा अमात्यका अनुसार स्थानिय स्तरमा दोहोरिरहेको फोहर अवरोधलाई सदा-सदाका लागि पन्छ्याउन स्थानीय सर्वदलीय समितिलाई सक्रिय बनाउने प्रयास भइरहेको छ।

बुधबार उनले बीबीसी नेपाली सेवासँग भनिन्, “अब हामी एउटा आधिकारिक समुहसँग मात्र वार्ता गर्छौं।

“बिहिबारदेखि फोहर लैजान अवरोध भए बल समेत प्रयोग हुन्छ।”

अवरोध

काठमाण्डूको उत्तरपश्चिममा पर्ने ओखरपौवा क्षेत्रको आलेटार ल्याण्डफिल साईट वरपरका स्थानिय समुहहरुले फोहरका ट्रक रोकिदिएपछि गएको १० दिनदेखि राजधानी शहर फेरी फोहरी र दुर्गन्धित हुन पुगेको छ।

यो सहित, सो क्षेत्रका विभिन्न समुहरुले ६६ पटक फोहर बोक्ने ट्रक रोकिसकेको काठमाण्डू महानगरपालिकाको गणना छ।

काठमाण्डू उपत्यकाले दैनिक ५०० टन फोहर उत्सर्जन गर्ने अनुमान गरिन्छ।

काठमाण्डू महानगरभित्रबाट मात्र दैनिक ३५० मेट्रिक टन फोहर निस्कन्छ।

समुहहरु

तर १० दिनअघि आलेटार, र दुई दिनअघि कागती गाउँका समुहहरुले अवरोध गरेपछि राजधानीको फोहर आलेटार ल्याण्डफील साइट पुग्न सकेको छैन।

काठमाण्डू महानगरपालिकाको वातावरण विभागका प्रमुख रबिनमान श्रेष्ठका अनुसार स्थानीयबासीहरुको एउटै सगोल समुह नभएकोले ओखरपौवा क्षेत्रका विभिन्न समुहरुले मनपरी ढंगले फोहरका ट्रक रोक्ने गरेका हुन्।

“पहिले एउटै समुह थियो सजिलो थियो, अहिले त्यस्तो छैन समस्या छ।”

ल्याण्डफिल साईट रहेको आलेटार राजधानीबाट २७ किलोमिटर टाढा पर्छ।

‘रोजगारी’

‘रोजगारी’को माग गरिरहेको आलेटारको एउटा समुह र सरकारी पक्षबीच सहमति भएलगत्तै आलेटार जाने बाटोमा पर्ने कागती गाउँको अर्को समुहले फोहरका ट्रकहरु रोकि दियो।

त्यसपछि काठमाण्डूको फोहर शहरमै थुप्रिरहेको छ।

तर अधिकारीहरुले चाहे जस्तै गरि यदि स्थानीय सर्वदलीय संयन्त्र सक्रिय हुन सकेन भने, ओखरपौवा क्षेत्रमा फोहरका ट्रकहरु अहिले जसरी नै बारंम्बार रोकिने र काठमाण्डू दुर्घन्धित भइरहेको क्रम टुङ्गिने छैन।