चुनावी गतिरोध तोड्न नयाँ निर्णय गर्छौं: प्रचण्ड

  • 1 सेप्टेम्बर 2010
माओवादी अध्यक्ष प्रचण्ड
Image caption प्रचण्डले गतिरोधको अन्त्य गर्ने विश्वास लिएको नयाँ कदमबारे खुलाएनन्

एकिकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको चुनावमा देखिएको गतिरोध तोड्न आफ्नो पार्टीले नयाँ कदम उठाउन लागेको बताएका छन्।

छैठौं मतदान हुनु चार दिनअघि प्रचण्डले त्यस्तो घोषणा गरेका हुन्।

यसअघि पाँच पटक भएको मतदानबाट प्रधानमन्त्री बन्न नसकेपछि प्रचण्डमाथि उनकै पार्टीभित्रबाट समेत हारको श्रृँखला टुंग्याउन दवाव परिरहेको थियो।

त्यसैले नयाँ विकल्प सोच्नु पर्ने खाँचो माओवादीका अन्य नेताहरुले सार्वजनिक रुपमै औँल्याउँदै आएका थिए।

संसदीय मामिला पत्रकार समाजको टोलीसँग बुधवार भएको भेटमा प्रचण्ड स्वंयमले त्यस्तो धारण व्यक्त गरेका हुन्।

चक्रव्यूह

उनले भने, “या त २० गतेको चुनावबाट एउटा निश्कर्ष हुने ढंगले या यो चुनावी चक्रव्युहबाट फुत्किन २० गतेसम्म एउटा नयाँ निर्णय गर्छौं।”

तर उनले गतिरोधको अन्त्य गर्ने विश्वास लिएको त्यस्तो निर्णयबारे प्रष्ट पारेनन्।

विगतमा आफ्नो दलको नेतृत्वको सरकारलाई नेपाली कांग्रेसले सघाएकाले अब उसलाई साथ दिनु पर्ने नैतिक बाध्यता रहेको मत अहिले तटस्थ बसिरहेको नेकपा एमालेभित्र बलियो रुपमा उठ्ने गरेको पाइन्छ।

प्रचण्डले पनि आफ्नो पक्षमा मतदान गर्न एमालेमाथि नैतिक दवाव दिन उम्मेदवारी दर्ता गर्ने दिनको एउटा गुह्य खोले।

उनले भने, “मैले उम्मेदवारी नदिने बताउँदा झलनाथ खनालजीले हाम्रो दुई तिहाई नपुगेपछि त उम्मेदवारी रहँदैन, कांग्रेसको मात्रै एकपक्षिय बनाउँदा अप्ठेरो हुन्छ भनेपछि मात्रै हामीले उम्मेदवारी दिएको हो।”

विश्वास

एमालेले तटस्थको आसनबाट डगमग गर्ने संकेत दिएको छैन।

त्यसैले तराई केन्द्रित पार्टीहरुकै समर्थनमा छैठौं चुनाव जित्ने विश्वास माओवादीभित्र बढ्दै गएको बताइन्छ।

तर माओवादीको यस्तो विश्वास विगतको चुनावमा अन्तिम घडीमा पुगेर भंग भएको थियो।