किन थेगि नसक्नु गरी बढ्यो सुनको आयात?

  • 3 सेप्टेम्बर 2010
अर्थ मन्त्रालय
Image caption आयात थेग्न नसकेपछि सरकारले सुन भित्र्याउनमा अस्थायी प्रतिबन्ध लगाएको छ

थेग्नै नसकिने गरी भित्रिएको सुन अधिकांश पूँजी पलायनको निम्ति वा नेपालपट्टिको सस्तो भन्सार दरको दुरुपयोग गर्न भारततर्फ गएको अधिकारीहरुको अनुमान छ।

गएको एक वर्षमा अघिल्लो वर्षभन्दा तीन गुना बढि करीब ४४ अर्ब रुपियाँको सुन आयात भएको थियो।

धान्नै नसकिने गरी सुन भित्रिएपछि सरकारले उक्त बहुमूल्य धातुको आयातमा अस्थायी प्रतिबन्ध लगाएको छ।

अस्वाभाविक वृद्धि

गएको वर्ष नेपालले कुल निर्यातमार्फत ५० अर्ब रुपियाँ चानचुन कमायो।

अनौठो त के छ भने लगभग त्यति नै रकम केवल सुन किन्नमै नेपालले खर्च गर्‍यो।

देशको सम्पूर्ण निर्यातले सुन किन्नमात्रै पुग्ने स्थिति कसरी आयो त?

केही समय अगाडि एउटा सार्वजनिक कार्यक्रममा बोल्ने क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा युवराज खतिवडाले सुनको बाढीले आफु छक्क परेको बताएका थिए।

“नेपालमा सुनको औसत माग भनेको पहिले पहिले आठ दश अर्बको हुन्थ्यो। लौ दोब्बरै बढेछ भनेपनि २० अर्ब हुन्थ्यो होला। तर ४० अर्ब रुपियाँ भन्दा बढिको सुन आउँदा पनि पुगेको छैन। सुनप्रतिको भोक किन बढेको हो मैलेपनि बुझ्न सकेको छैन,” डा खतिवडाले बताएका थिए।

सुन आयातमा भएको वृद्धिको कारण खोतलेका मानिसहरुका अनुसार अचानक आन्तरीक माग बढेको हुन सक्ने तर्कमा दम छैन।

नेपाल राष्ट्र बैंकका भूतपूर्व गभर्नर दिपेन्द्र बहादुर क्षेत्रीका अनुसार लगानीका अन्य अवसर नभएको बेला केही मानिसहरुले सुनमा लगानी गरेका पनि हुन सक्छन्। तर त्यो नै माग बढ्नुको मुख्य कारण होइन।

“मुख्य कुरा चाहीं नेपालबाट भारततर्फ सुन लैजान सजिलो भएको छ। विदेशी मुद्रा तिरेर आएको सुन भारततर्फ जानु तर भारतीय रुपियाँ यहाँ फर्कन नसक्नुका कारणले भारुको अभाव चर्किएको छ भने सुन आयात हाम्रा लागि समस्या बनेको छ,” क्षेत्रीले भने।

दुई कारण

त्यसरी भारततर्फ सुन जानुमा दुईवटा कारण प्रमुख रुपमा आएका छन्।

पहिलो कारण हो नेपालभन्दा भारतमा सुन आयातको भन्सार दर उच्च रहनु।

६ महिना जति अगाडि भारतीय अर्थमन्त्रीले सुन भन्सार दर थप बढाइदिएपछि नेपालमा उच्च चाप पर्न गएको अर्थ मन्त्रालयका सल्लाहकार केशव आचार्यको भनाई छ।

“भारतको बजेटले सुनको भन्सार महसुल प्रति १० ग्राम ३२० रुपियाँबाट ४८० पुर्‍याइदियो। प्रति १० ग्राममा नेपाल र भारतको भन्सार दरमा ३५ रुपियाँको फरक पर्‍यो,” आचार्यले बताए।

भन्सार दरको फाइदा उठाउन नेपालबाट भारत सुन लगिएको पहिलो कारण स्वाभाविक देखिएपनि दोस्रो कारणको बारेमा त्यति धेरै जानकारी बाहिर आउने गर्दैन।

कतिपय मानिसहरुले विदेशी मुद्रामा किनिएको सुन गैरकानुनी रुपमा भारत लगेको तर त्यहाँबाट भारतीय रुपियाँ वा अन्य विदेशी मुद्रा फिर्ता नल्याएको भन्दै सुनलाई पूँजी पलायनको उपकरणको रुपमा प्रयोग गरिएको हुनसक्ने बताइएको छ।

त्यस्तै विश्वास गर्नेहरुमध्ये पूर्व गभर्नर क्षेत्रीपनि एक हुन्।

उनले केही अगाडि भएको अपहरणको घटना सम्झँदै भने, “चितवनका डा भक्तमान श्रेष्ठका अपहरणकारीहरुलाई भारत गएर साढे तीन किलो बराबरको सुन बुझाएपछि उनको रिहाई भएको समाचार आयो। पूँजीलाई यताबाट उता लैजाने माध्यमको रुपमा सुनको प्रयोग भएको कुरा यसले पनि प्रष्ट पार्छ,” उनले भने।

आत्तियो सरकार

यस्तरी गरिने पूँजी पलायन मार्फत कति रकम बाहिरियो भन्ने आधिकारिक आँकडा कतै नभएपनि यो २० अर्ब रुपियाँभन्दा माथिनै रहेको कतिपयको अनुमान छ।

सुन मार्फत विदेशी मुद्रा ह्वात्तै बाहिरिएबाट आत्तिएको सरकारले सुनको भन्सार दर बढाउन ६ महिना अगाडि ल्याएको अध्यादेशको म्याद भदौ १८ गते सकिएको छ।

बजेट आउन नपाएको बेला सुनको आयात फेरि अनियन्त्रित रुपले बढ्ने शंकामा सरकारले आयात ऐनमार्फत सुनको आयातमा अस्थायी प्रतिबन्ध लगाएको छ।

भदौ २० गते बस्ने संसद बैठकले, सरकारले १५ गते दर्ता गराएको पुरानो बजेट संशोधन गर्ने विधेयक पारित गरेपछि मात्र उक्त प्रतिबन्ध फुकाइने बताइएको छ।

तर प्रतिबन्ध फुकुवा भएपछि समेत समस्याको पूर्ण समाधान हुने छाँटकाँट भने छैन।

भन्सार दरको असमानता मिलान हुने सम्भावना भएपनि पूँजी पलायन जस्ता जटिलतासंग जुध्ने कुनै उपाय अघि सारिएको छैन।