छैटौं चरणको चुनावपनि अनिर्णित हुने संकेत

  • 4 सेप्टेम्बर 2010
माओवादी नेता कृष्णबहादुर महरा
Image caption चुनाव जित्न महराले पैसा मागेको भनिएको अडियो टेप सार्वजनिक भएको छ

पाँच पटकसम्म तटस्थ बसेको एमालेले आईतबार पनि कसैलाई मत नदिने बताएको छ।

तराई केन्द्रित दलहरुको मोर्चाले पनि तटस्थताको अडान छाडिसकेको छैन।

जसको कारण आईतबारको प्रधानमन्त्रीय निर्वाचनले नतीजा दिने सम्भावना कम छ।

दुई थरी भनाई

मोर्चाका केही घटकहरुभित्रचाहिं निकास दिन तटस्थताको एक सूत्रीय मन्त्र परिवर्तन गर्नुपर्ने बेला आएको भन्ने तर्कले बल पाइरहेको छ।

“तटस्थ बसेर देशलाई कतिञ्जेल अन्योलमा राख्ने? त्यसकारण सरकारविहिनताको स्थिति तोड्न पर्छ भन्ने हाम्रो धारणा छ,” मधेशी जनाधिकार फोरमका महासचिव रामसहायप्रसाद यादवले बताए।

तर उनको कुरालाई मोर्चाका अन्य नेताहरुले काटेका छन्।

समग्र मोर्चाले गर्ने निर्णयमात्र आधिकारिक हुने मधेशी जनाधिकार फोरम लोकतान्त्रिकका प्रवक्ता जितेन्द्र देवले बताए।

“बाहिर जे जस्ता भनाई आएपनि ती सबै अनौपचारिक हुन्। आईतबार मोर्चाको बैठक बसेपछि मात्र निर्णय हुन्छ,” उनले भने।

मोर्चाको घटकमध्ये यी दुईवटै फोरमले मत हालेमात्र माओवादीका अध्यक्ष प्रचण्डले बहुमत पाउने सम्भावना हुन्छ।

तर शनिबारसम्मको स्थितिमा प्रचण्ड प्रधानमन्त्री हुने सम्भावना नदेखेको स्वयं माओवादीका सचिव सीपी गजुरेलले बताएका छन्।

टेप काण्ड

प्रचण्डको निम्ति बहुमत पुर्‍याउन चाहिने मत किन्न एकजना माओवादी नेताले चिनियाँसंग पैसा चाहिएको कुरा गरेको भनिएको अडियो टेप मतदानको पूर्वसन्ध्यामा सार्वजनिक भएको छ।

तर उक्त टेपको माओवादी तथा चिनियाँ दूतावासले खण्डन गरेका छन्।

चिनियाँसंग पैसा लिएर मत किन्ने माओवादी नेता कृष्णबहादुर महराको प्रयास भनेर प्रचारित अडियो टेप आफुहरुको बहुमत पुर्‍याउने प्रयत्न तुहाउने षडयन्त्र भएको माओवादीको आरोप छ।

“चुनावलाई प्रभावित पार्नकै निम्ति यो अडियो टेप अघि सारिएको भन्ने हामीलाई लागेको छ। किनभने यतिखेर माओवादीमाथि चौतर्फि आक्रमण भइराखेको छ,” माओवादी सचिव सीपी गजुरेल।

प्रविधिको दुरुपयोग गरेर अडियो टेप रचिएको र त्यसको सत्यतथ्य जाँचिनुपर्ने उनले बताए।

जटिलता

प्रचण्डको सम्भावना प्राविधिक रुपमा केही जीवित भन्न सकिएपनि अर्का उम्मेदवार नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलको सम्भावना मृत भइसकेको कुरा एमाले सचिव युवराज ज्ञवालीको भनाईले देखाउँछ।

“हामी तटस्थ बस्ने अडानमा अडिग छौं। सहमतिको लागि हामीले यो अडान लिएका हौं,” ज्ञवालीले बताए। एमालेको समर्थन विना पौडेलले बहुमत पाउन सक्दैनन्।

आईतबारको मतदानले निर्णय नदिएमा अर्को पटकको मतदान चाँडै हुन सक्नेमा विभिन्न जटिलता देखा पर्न सक्छन्।

नेपाली कांग्रेस असोजको पहिलो सातादेखि हुने आफ्नो महाधिवेशनमा होम्मिने छ।

त्यसैले अर्को मतदान महाधिवेशन पछाडि सार्न आफुहरुले कोशिश गर्ने नेपाली कांग्रेसका महामन्त्री विमलेन्द्र निधिले बताए।

असोज महिनाको पहिलो सातातिरै कामचलाउ प्रधानमन्त्री माधवकुमार नेपाल संयुक्त राष्ट्रसंघको महासभा बैठकमा भाग लिन अमेरिका जाने सुरसारमा छन्।

साथै असोज लागेपछि देशलाई चाडबाडको चटारोले समेत छोप्न थाल्ने छ।

यी जटिलतामाझ राजनीतिको गाँठो फुक्ने भन्दा झन जेलिने सम्भावना बढ्ता रहेको कतिपय विश्लेषकहरुको भनाई छ।

सम्बन्धित समाचार