अन्मिनको म्याद दुई महिना थपिन सक्ने संकेत

  • 10 सेप्टेम्बर 2010
अन्मिन अस्त्र निरिक्षकहरू
Image caption माओवादीले अन्मिनको कार्यावधि छ महिनाले थप्नु पर्ने माग गरेको छ

अनिश्चितताको घेरामा परेको नेपालस्थित राष्ट्रसंघीय नियोग अन्मिनको कार्यावधि दुई महिनाले थप्ने सहमति सुरक्षा परिषदमा बन्दै गएको कुटनीतिक स्रोतहरूले जनाएका छन्।

शान्ति प्रक्रियाका दुवै पक्ष, सरकार र माओवादीलाई, अन्मिनको कार्यावधि र कार्यादेशबारे सहमति बनाउन समय दिनका लागि त्यसरी दुई महिना म्याद थप गर्नेबारे सुरक्षा परिषदका सदस्य राष्ट्रहरू सकारात्मक रहेका ती स्रोतहरूले बताएका छन्।

नेपाल सरकारबाट ढिलो गरी एकतर्फी रूपमा अन्मिनको कार्यावधी चार महिनाका लागि थप गर्न अनुरोध गरिएको कारण देखाइ सुरक्षा परिषद त्यस्तो निर्णय गर्नअघि बढेको बताइंदै गर्दा, एकिकृत नेकपा माओवादीले सो कारणलाई बल पु-याउने कदम लिएको देखिएको छ।

विवाद

प्रमुख विपक्षी सो दलले राष्ट्रसंघलाई एउटा छुट्टै पत्र पठाइ अन्मिनको कार्यावधि छ महिनाले थप्नु पर्ने र नेपाली सेनालाई पनि त्यसको सुपरिवेक्षणमा राख्‍नु पर्ने उल्लेख गरेको छ।

सरकारको पत्रमा चाहीं सेनाको कुरा नपारिएकोले पनि सुरक्षा परिषदले माओवादी र सरकारी पक्षबीच सहमति भइ अन्मिनको कार्यावधि तथा कार्यादेशबारे एउटा साझा अनुरोध आउनु पर्ने सोच बनाएको ती स्रोतहरूले बीबीसी नेपाली सेवालाई बताए।

अन्मिनको कार्यावधि एवं कार्यादेशबारे छलफल गर्न बसेको सुरक्षा परिषदको बैठकमा भाग लिएका ती कुटनीतिक स्रोतहरूले भने, “दुई महिना समय थप गर्ने कुरामा परिषदका सबै सदस्यहरूले मोटामोटी सहमति जनाएका छन्।"

सिफारिश

राष्ट्रसंघीय महासचिव बान कि मूनले आफू अन्मिनको कार्यावधि बारम्बार लम्ब्याउने पक्षमा नभएको बताउंदै यस पटक चाहीं विद्यमान कार्यादेश जारी रहन दिन सुरक्षा परिषदलाई सिफारिश गरेका थिए।

यसअघि अन्मिनको कार्यावधि छ पटक थपिंदा सुरक्षा परिषदका कतिपय बैठकहरूमा केही प‌श्चिमा देशको चीन तथा परिषद बाहिर रहेको भारतसित कुरा नमिल्ने गरेको कुटनीतिज्ञहरू बताउने गर्थे।

केही महिनाअघि पछिल्लो पटक कार्यावधि थप्दा पनि सुरक्षा परिषदका केही पश्चिमा सदस्य राष्ट्रहरूले शान्ति पक्रियामा अन्मिनको भूमिका अझै सशक्त बनाइनु पर्ने तर्क गर्दा, चीन र रूसले नेपाल सरकारको अनुरोध अनुसार नै निर्णय गर्नु पर्ने बताएका कुरा बीबीसी नेपाली सेवाले बाहिर ल्याएको थियो।

अन्मिनको बारेमा पहिलो पटक त्यसरी खुलेरै आफ्नो धारणा राखेको बताइएको रूसको भारतसित निकैअघि देखि नजीकको सम्बन्ध रहंदै आएको छ।