अन्मिनबारे सहमति जुट्नै लागेको माओवादी दावी

  • 12 सेप्टेम्बर 2010
अन्मिन प्रमुख करिन ल्याण्डग्रेन
Image caption अन्मिनको कार्यावधि सातौं पटक थप्ने विषय तीव्र विवादको घेरामा परेको छ

सरकार र एकीकृत नेकपा माओवादी नेपालस्थित संयुक्त राष्ट्रसंघीय मिसन अन्मिनको म्याद थप्ने विषयमा सहमतिको नजिक पुगेको एकजना माओवादी नेताले बताएका छन्।

सरकारी पक्षले थप गृहकार्य थालेकोले आइतबार अन्तिम निर्णय हुन नसकेको बताइएको छ।

दुबै पक्षले अन्मिनको कार्यादेश र नयाँ म्यादबारे राष्ट्रसंघलाई फरक फरक पत्र पठाएपछि अन्यौल बढेको थियो।

सेप्टेम्बर १५ तारिकमा म्याद सकिन लागेको अन्मिनको कार्यादेश र म्याद थपको विषयमा राष्ट्रसंघलाई भिन्ना भिन्नै पत्र पठाएका दुबै पक्ष, अन्तिम समयमा आएर फेरी एउटै साझा पत्र तयार गर्न लागिपरेका हुन्।

‘समझदारी’

तर त्यसबारे अन्तिम निर्णय अर्को वैठकमा हुने अनुमान गरिएको छ।

सरकार माओवादीपक्षबीचको वार्ताका एकजना सहभागी माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशका अनुसार आइतबारको छलफलमा अन्मिनको कार्यादेश र म्यादकाबारे एक खाल्को समझदारी बनीसकेको थियो।

“तर उहाँहरु प्रधानमन्त्रीसँग सल्लाह गर्न गएपछि आउनु भएन।

“अब सोमबारको वैठकमा निर्णय गरौं भन्नु भएको छ।”

त्यसबारे सरकारी पक्षको प्रतिक्रिया लिने पटक पटकको प्रयास विफल भयो।

सरकारले नेपाली सेनालाई अन्मिनको अनुगमनबाट बाहिर्‍याउदै चार महिनाको लागि म्याद थप्ने पत्र राष्ट्रसंघलाई पठाएको थियो।

त्यस्तै आशयको सरकारी आधारपत्रमाथि दुवै पक्षबीच छलफल चलिरहेको हो।

सातौं पटक

तर माओवादीले अन्मिनको कार्यादेश जस्ताको तस्तै राख्दै, छ महिनाको लागि मात्र म्याद थप्न राष्ट्रसंघलाई छुट्टै पत्र पठाएपछि, राष्ट्रसंघले दुबै पक्षलाई साझा धारणा बनाउन अनुरोध गरेको थियो।

चार वर्ष देखि नेपालको शान्ति प्रक्रियालाई सघाइरहेको अन्मिनको अवधी सातौं पटक थपिन लागेको हो।

राष्ट्रसंघीय अधिकारीहरुले अन्मिनको भूमिका तटस्थ रहदै आएकोमा जोड दिएपनि पछिल्लो समयमा खासगरि सरकारमा रहेका प्रमुख दलहरुले अन्मिनको निष्पक्षताबारे गम्भीर प्रश्न चिन्ह लगाउदै आएका छन्।