कांग्रेस महाधिवशेन शुरु, अधिकांश दल एउटै मञ्चमा

  • 17 सेप्टेम्बर 2010
कांग्रेस कार्यकर्ताहरु
Image caption महाधिवेशनका लागि देशभरीबाट कांग्रेस कार्यकर्ताहरु राजधानी आएका छन्

देशको एउटा प्रमुख दल नेपाली कांग्रेसको बाह्रौं महाधिवेशन काठमाण्डूमा शुरु भएको छ।

खुलामञ्चमा भएको उदघाट्न सभा राजनीतिक संकटमा रुमल्लिएका संविधानसभाका अधिकांश जसो पार्टी एउटै मञ्चमा भेला हुने अवसर बनेको थियो।

सभामा एकिकृत नेकपा माओवादी, नेकपा एमाले, तराई केन्द्रित पार्टी लगायत विदेशका पार्टीका प्रतिनिधि र प्रमुखहरु उपस्थिति थिए।

त्यहाँ प्रमुख दलका प्रमुख नेताहरुबीच मेलमिलापका कुरासंगसंगै वादप्रतिवादको जुहारी पनि चलेको थियो।

अघिल्ला वक्ताहरुले झैं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वीपी कोइरालाका साथै गिरिजाप्रसाद कोइरालाको मुक्त कण्ठले प्रशंसा गरेका थिए।

उनले आफ्ना दिवंगत ती नेताहरुको विचार अनुसरण गरेर १२ बुँदे सहमतिपछिको जस्तै राजनीतिक मिलाप बनाउने शुभकामना दिएका थिए।

एमाले अध्यक्ष झलनाथ खनालले पनि सहमतिको कुरा गरेका थिए।

प्रतिवाद

तर अघिल्ला वक्ताहरुको भनाईप्रति असहति जनाउँदै माओवादी अध्यक्ष प्रचण्डले भने, “यदि तपाईंहरुले कांग्रेसले माओवादीलाई तानेर मूलधारमा ल्याएको ठान्नु भएको छ भने। त्यो गलत हो। १२ बुँदे सहमति दुबै पक्ष मिलेर भएको हो।”

कांग्रेस कार्यकर्ताहरुले त्यसको विरोध गरेका थिए।

नेता शेरबहादुर देउवाले पनि जवाफ फर्काए, “प्रचण्डजीलाई म जवाफ त दिन चाहन्न। तर २००७, २०४६ र २०६२-६३को आन्दोलनको नेतृत्व कांग्रेसले गरेको हो कि होइन्। त्यसैले हामीले उहाँलाई तान्या भन्या छैनौं उहाँ आको भन्या छौं।”

संविधानसभामा माओवादीलाई ठूलो दलको रुपमा स्वीकार्ने आँट गर्नोस् भनि प्रचण्डले कांग्रेसलाई गरेको आग्रहको कार्यवाहक सभापति सुशील कोइरालाले जवाफ दिएका थिए।

उनले भने, “प्रचण्डजी शान्ति प्रकृया पुरा गर्नोस्, संविधान निर्माणको बाटो खोल्नुस्, कब्जा घर-जग्गा फिर्ता गर्नुस्, वाइसिएलको गतिविधि बन्द गर्नोस् अनि तपाईं प्रधानमन्त्री हुनुस् हामीलाई केही आपत्ती छैन्।”

दृश्य

कार्यक्रममा केही चाख लाग्दा अनि अर्थपूर्ण दृश्य पनि देखिए।

-दलहरुबीच राजनीतिक विवादको केन्द्र बन्न पुगेका अवकासप्राप्त प्रधानसेनापति रुकमाङ्गद कटवाल पनि मञ्चमा देखिएका थिए।

-सभामुख सुवासचन्द्र नेम्वाङले संसदीय मर्यादा अनुसार सम्बोधन गर्दै ‘असहज सम्बन्ध भएका भनिएका’ आफ्नै दलका अध्यक्ष झलनाथ खनालको नाम उच्चारण गरेनन्।

-सभापतिका दुई प्रत्यासी कोइराला र देउवाले एकअर्काको हात समाएर अभिवानद गरेका थिए।

-दुई विपरीत ध्रुवका प्रचण्ड र राप्रपा नेपालका अध्यक्ष कमल थापा दुबैले वीपीको विचारलाई अनुशरण गर्न कांग्रेसलाई अपिल गरे।

-सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले हिन्दिमा भाषण शुरु गरेपछि भीडबाट विरोध आउँदा कांग्रेस नेता रामचन्द्र पौडेलले सम्झाउनु परेको थियो।

-प्रचण्ड र नेकपा मालेका महासचिव सीपी मैनालीबीच मुखा मुख हुँदा नमिठो लाग्ने इशारा आदान प्रदान मात्र भयो। अभिववादनमा कसैले नहात उठाए न मिलाए।

-मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष बनेपछि कांग्रेसका भूतपूर्व नेता बन्न पुगेका विजयकुमार गच्छदार बोल्न उभिएपछि कांग्रेस कार्यकर्ताले जोडको आवाजका साथ उनीप्रति आत्मियता दर्शाएका थिए।

यस्तै अनेक दृश्यहरुमाझ पटक पटकको सीमसिमे पानीका बीच उदघाट्न सकिँदा झमक्क साँझ परिसकेको थियो।

पांच दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चुन्ने कार्यक्रम छ।