प्रचण्डद्वारा उम्मेदवारी फिर्ता लिने घोषणा

  • 17 सेप्टेम्बर 2010
नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल
Image caption माओवादीले हिंसा त्यागे उम्मेदवारी फिर्ता लिने पौडेलले बताए

नेकपा एमालेसंग एउटा सहमति गर्दै माओवादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिने निर्णय गरेका छन्।

यस अघि नै उक्त दौडबाट नाम फिर्ता लिएका एमाले अध्यक्ष झलनाथ खनाल र प्रचण्डले शुक्रबार एउटा सहमतिमा हस्ताक्षर गरी अब हुने चुनावमा दुवै दलले भाग नलिने अठोट गरेका छन्।

दौडको मैदानमा बाँकि बचेका रामचन्द्र पौडेलको दल नेपाली कांग्रेससंग छलफल गरेर नयाँ प्रक्रियाबाट निकास दिने उनीहरुको भनाई छ।

सहमति

सात सात पटकको चुनावले नयाँ प्रधानमन्त्री छान्न नसकेपछि माओवादीले अब यस प्रक्रियाबाट बाहिरिन चाहेको संकेत यस अघि नै दिएको थियो।

त्यसको उदघोष प्रचण्डले शुक्रबार नेपाली कांग्रेस महाधिवेशनको उदघाटन कार्यक्रममा गरे।

“मैले प्रधानमन्त्रीको दौड त्यागिदिएं,” उनले भने।

प्रचण्डको घोषणा शुक्रबार बिहान माओवादी र एमालेबीच भएको सहमतिकै अंग थियो।

सहमतिमा उल्लेख कुराहरुबारे बोल्दै माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ प्रकाशले भने, “हामीले र एमालेले अब यो प्रक्रिया नटुंगिएसम्म प्रधानमन्त्रीको चुनावमा भाग नलिने निर्णय गरेका छौं।”

सहमति जत्तिकै महत्वपूर्ण कुराचाहीं सहमति गर्न डाकिएको बैठकमा उपस्थित नेताहरुको नामावली रहेको छ।

उत्साहित

एमालेभित्र तटस्थताको नीति त्यागेर नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउनुपर्छ भन्ने तप्काको कुराले बल पाउन थालेको समाचारका बीच शुक्रबारको बैठकमा उपस्थित एमाले नेताहरुको नामावलीले माओवादी उत्साहित भएको सजिलै अनुमान लगाउन सकिन्छ।

“अब कुनै तप्का बाँकि रहेन। शुक्रबारको बैठकमा एमालेका तर्फबाट अध्यक्ष खनाल र महासचिव इश्वर पोखरेलमात्रै नभई प्रधानमन्त्री माधवकुमार नेपाल र नेता केपी ओली पनि सहभागी हुनुहुन्थ्यो। उहाँहरुकै अगाडि सहमति भयो,” माओवादी नेता प्रकाशले बताए।

उक्त सहमतिलाई आफुले गएको दुई महिनादेखि अपनाएको तटस्थताको नीतिको विजयको रुपमा एमालेका कतिपय नेताहरुले लिएका छन्।

“बहुमत होइन सहमतिले मात्रै राष्ट्रको समस्या समाधान गर्छ भन्ने हाम्रो अडानको पुन पुष्टि भएको छ,” एमालेका महासचिव इश्वर पोखरेलले बताए।

कांग्रेसको जवाफ

दुई ठूला दलको सहमतिपछि रक्षात्मक स्थितिमा पुगेको नेपाली कांग्रेससंग अब निकै कम विकल्प रहेको ठानिएको छ।

किनकि एमाले पछि हट्नासाथ बहुमत पाउने कांग्रेसको सम्भावना नै रहँदैन।

तैपनि आफ्नो पार्टिले अझै पर्खेर हेर्ने संकेत कांग्रेसले दिएको छ।

प्रचण्ड समेत उपस्थित महाधिवेशन उदघाटन सत्रमा बोल्दै कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले दिएको जवाफ यस्तो थियो।

“माओवादीले हतियार र हिंसाको राजनीति छाड्छ भने म प्रधानमन्त्रीको उम्मेदवारी अहिलेनै छाड्दिन्छु।”

नेपाली कांग्रेसको उम्मेदवारले मैदान नछाडे चुनावी दौड समाप्त गर्न मिल्दैन।

आठौं चरणको चुनाव तोकिएको दिन आउन अब ९ दिन बाँकि छ।

त्योभन्दा अगाडि नेपाली कांग्रेसको जारी महाधिवेशन सकिएपछिमात्र कुनै ठोस निर्क्योल निस्कने सम्भावना रहन्छ।

सम्बन्धित समाचार