नेपाली कांग्रेस हाँक्न तीन नेता मैदानमा उत्रिए

  • 18 सेप्टेम्बर 2010
नेपाली कांग्रेसका कार्यकर्ताहरु
Image caption नीतिको लेखाजोखा भन्दा नेतृत्व चयन गर्ने कुराले महाधिवेशनमा प्राथमिकता पाएको छ

नेपाली कांग्रेसको नेतृत्वको दौडमा तीन जना उम्मेदवार खडा भएका छन्।

कार्यवाहक सभापति सुशील कोइराला, पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा तथा नेता भीमबहादुर तामाङले सभापतिको पदको निम्ति आ आफ्नो उम्मेदवारी शनिबार दर्ता गराएका छन्।

यसका साथै तीनवटा प्यानलमा विभक्त भइ अन्य कार्यकारी पदहरुमा उम्मेदवारी दर्ता गरिएका छन्।

उनीहरुको जितहार आउने मंगलबार हुने चुनावले छिनोफानो गर्नेछ।

दर्ता

शुक्रबारदेखि शुरु भएको नेपाली कांग्रेसको बाह्रौं महाधिवेशनको दोस्रो दिन, शनिबार, उम्मेदवारी दर्ता गराउन तोकिएको थियो।

यस अघि नै सार्वजनिक घोषणा गरिसकेका तीन नेताले सभापतिको दावेदारी प्रस्तुत गरे।

सभापतिको पदको अतिरिक्त महामन्त्रीको पदमा पनि तीनजना नेता लड्ने भएका छन्।

देउवाको प्यानलबाट वर्तमान महामन्त्री विमलेन्द्र निधि, कोइरालाको प्यानलबाट वर्तमान उपसभापति प्रकाशमान सिंह र तामाङको प्यानलबाट नेता नरहरि आचार्य महामन्त्री बन्न अग्रसर भएका छन्।

ती बाहेक पाँच दर्जन केन्द्रिय सदस्य पदको लागि ३०० भन्दा बढिले उम्मेदवारी दर्ता गराएका छन्।

“खुलातर्फको २५ पदको लागि ९९ जनाले उम्मेदवारी दिएका छन्। चौध अञ्चलबाट एक एकजना चुनिने सीटमा ९२ जना अगाडि आएका छन् भने विभिन्न कोटामा १०० देखि १२५ जनाको उम्मेदवारी परेको छ,” नेपाली कांग्रेसका प्रवक्ता अर्जुन नरसिंह केसीले भने।

केसीका अनुसार उम्मेदवारहरुले आइतबारसम्म नाम फिर्ता लिन सक्छन्।

उनीहरुको भाग्यको फैसला एकतीस सय महाधिवेशन प्रतिनिधिहरुको हातमा छ।

तीव्र टक्कर

पहिले नेपाली कांग्रेस फुटेर देउबाको नेतृत्वमा बनेको प्रजातान्त्रिक कांग्रेसका नेताहरुमध्ये अग्रणी प्रकाशमान सिंह अहिले कोइरालाको प्यानलमा गएका छन् भने अर्का प्रभावशाली नेता खूमबहादुर खड्का अहिले देउबा निकट छन्।

समीकरणको यस्तो परिवर्तनका कारण चुनावी टक्कर तीव्र हुने देखिन्छ।

पहिलो चरणको चुनावमा कसैले पचास प्रतिशत मत नल्याए दोस्रो चरणबाट पार्टि नेतृत्वको छिनोफानो गर्नुपर्ने हुनसक्छ।

“सभापतिको चुनावको हकमा पचास प्रतिशत मत ल्याउनै पर्छ। कसैले ल्याएन भने पहिलो र दोस्रो स्थानमा रहेका उम्मेदवारहरुबीच तत्कालै दोस्रो चरणको चुनाव हुन्छ,” प्रवक्ता केसीले बताए।

महाधिवेशनमा पार्टिका नीति र एजेण्डाबारेको छलफल बन्द सत्रमार्फत शुरु भएको छ।

जहाँ परिणामविहिन बनेको प्रधानमन्त्रीय चुनावका कारण हाल देखिएको राजनीतिक गतिरोधबारे समेत छलफल हुनेछ।

कांग्रेसको महाधिवेशन नसकिएसम्म जारी गतिरोध तोडिने सम्भावना निकै कम भएको कतिपय विश्लेषकहरुको धारणा आइरहेको बेला, अहिले सबैको ध्यान महाधिवेशनस्थल भृकुटिमण्डपमै केन्द्रित छ।

सम्बन्धित समाचार