नवनिर्वाचित कांग्रेस सभापति कोइरालाका चुनौति

  • 28 सेप्टेम्बर 2010

नेपाली कांग्रेसका नेता स्वर्गीय गिरिजाप्रसाद कोइरालाले आफ्नो उत्तराधिकारीका रुपमा कार्यवाहक सभापति बनाएर छोडेका विश्वास गरिएको सुशील कोइरालाले अन्तत: सभापति पदका लागि भएको कडा प्रतिस्पर्धामा विजयी बनेर दलभित्र आफ्नो पकड रहेको पुष्टी गरेका छन्।

Image caption सुशील कोइराला दुइजना प्रतिद्वन्द्वीलाई हराएर नेपाली कांग्रेसको सभापति बने

अब कांग्रेस पार्टी परिचालन र देशका अन्य दलसँग मिलेर अहिले ठप्प रहेको राजनीतिक प्रक्रियालाई गति दिन सक्ने किसिमको नेतृत्वदायी भूमिका निर्वाह गर्नु उनको प्रमुख चुनौति हुनेछ।

पछिल्लो समयमा कांग्रेसका सर्वशक्तिमान नेता रहेका र नेपाली राजनीतिक वृत्तको प्राय: केन्द्रमा रहने गरेका गिरिजाप्रसाद कोइरालाको कोटरीमा सुशील कोइराला सँधै संलग्न थिए।

पार्टीको केन्द्रीय सदस्यदेखि महामन्त्री, कार्यवाहक सभापति जस्ता पदको जिम्मेवारी उनले सम्हालेका थिए।

चुनौति

करिब ३५० भोटको फरकले मात्र हारेका शेरबहादुर देउवा र देउवालाई समर्थन गर्ने ठूलो जमातलाई सँगै लिएर जाने कडा चुनौति कोइरालाको अगाडि छ।

पार्टी विभाजन भएदेखि कायम रहेको खाडल पुर्न कसैलाई काखा र पाखा नगरि उदार दिलले कोइराला अगाडि जान सकेनन् भने त्यसले कांग्रेसलाई बलियो बनाउनेछैन।

कोइरालाको अगाडिको बाटो चाहिँ महामन्त्री लगायत पार्टीमा जितेर आउने अरु केन्द्रीय अधिकारीको प्रकृतिले पनि निर्धारण गर्नेछ।

पार्टीलाई नयाँ जीवन दिन गाउँस्तरसम्म पुग्ने कोइरालाले बताएका छन्।

सक्रियता

अधिवेशनका बेला सक्रिय देखिएका कार्यकर्तालाई निरन्तर सक्रिय बनाइरहनु कोइरालाको अर्को चुनौति हुनेछ।

यस महाधिवेशनका बेला "खातापिता" कार्यकर्ताको बोलबाला रहेको बताइन्छ।

त्यसमा परिवर्तन गरेर निमुखा गरिब किसान मजदुर लगायत सबै अटाउन सक्ने पार्टी बनाउनुमा कोइरालाको सफलता आँकिनेछ।

पार्टीमा कस्ता सदस्यको हालीमुहाली हुन्छ, त्यसको लेखाजोखा गरिन्छ गरिँदैन त्यसले पनि कांग्रेसको भविष्य निर्धारण गर्नेछ।

पार्टी विचार शुन्य भएको छ भन्ने पार्टीकै मुर्धन्य नेताहरुको भनाइ रहँदै आएको छ।

समाजवाद

प्रजातन्त्र र समाजवाद जपेर मात्र नपुग्ने उनीहरुको दृष्टिकोण छ।

Image caption ३ हजार भन्दा बढि प्रतिनिधि कांग्रेसको बाह्रौं महाधिवेशनमा सहभागी थिए

सिद्धान्तगत हिसाबमा समाजवाद भनेको के हो भन्ने कांग्रेसले पुनर्व्याख्या गर्न जरुरी भएकोमा कतिपयले जोड दिने गरेका छन्।

२०४६ यता पार्टीले लिँदै आएको उदारवादी या पुँजीवादी आर्थिक सामाजिक कार्यक्रमसँग आफूलाई समाजवादी भन्न दलभित्रकै कतिपयको विमति छ।

पटक पटक अर्थमन्त्री भएका उदारवादी अर्थतन्त्रका पक्षपाति डा. रामशरण महत र महेश आचार्य कोइरालाकै पक्षमा उभिएकाले कांग्रेसमा आर्थिक यथास्थितिवादले निरन्तरता पउने हो कि भन्ने शंका गर्नेहरु पनि धेरै छन् ।

त्यस्तै कांग्रेसले संघियता राज्य पुनर्संरचना लगायतका विषयमा वैचारिक स्पष्टता देखाउन नसकेको कतिपयको भनाइ छ।

बाह्य सम्बन्ध

त्यस्ता विचार र सिद्धान्तको वकालत गर्ने बौद्धिक भनेर चिनिएका सभापति पदका प्रत्यासी भीमबहादुर तामाङ र उनीसँगै महामन्त्रीको उम्मेदवारी दिएक नरहरी आचार्यले ल्याएको असाध्यै झिनो मतले कांग्रेस वैचारिक भन्दा पनि व्यक्तिमुखि भएको धेरै अनुभव गरेका छन्।

गिरिजाप्रासद कोइरालाले माओवादीको साथ लिएर तय गरेको भनिएको यहाँसम्मको यात्राको निरन्तरता या अन्त्य भन्नेमा उनकै कार्यकर्तामाझ अन्यौल देखिन्छ।

माओवादीलाई समेत नेतृत्व गरेर अगाडि बढ्न सक्छन् कि सक्दैनन्, अब माओवादीलाई छोडेर जाने हो कि सँगै डोहोर्‍याएर लाने हो त्यो उनका सामु उपस्थित अर्को ठूलो चुनौति हो।

दलभित्रको र राष्ट्रिय राजनीति कांग्रेसको नयाँ सभापतिका लागि जति चुनौतिपूर्ण छ त्यतिकै चुनौतिपूर्ण उनका लागि दलको भारतसँगको सम्बन्ध पनि हुनेछ।

भारतले नेपाली राजनीतिलाई पुरै व्यवस्थापन गर्न खोजिरहेको भन्ने आरोप लागिरहेका बेला कोइरालालाई भारतसँगको सम्बन्ध सन्तुलित र सम्मानित राख्न कठीन हुने देखिन्छ।

आउँदा दिनहरुमा उनले खेल्ने भूमिका स्पष्ट भएन भने कतिपयले आशंका गरे झैं नेपाली कांग्रेसको रुपमा त परिवर्तन आउला तर सारमा भने कुनै परिवर्तन आउनेछैन।