महामन्त्रीमा प्रकाशमान, कोषाध्यक्षमा यादव विजयी

  • 22 सेप्टेम्बर 2010
कांग्रेस महाधिवेशनका मतदाता
Image caption महाधिवेशनबाट कांग्रेसको नेतृत्व पार्टी संस्थापकपछिको पुस्तामा सरेको छ

नेपाली कांग्रेसमा सभापतिपछिको शक्तिशाली पद महामन्त्रीमा २०४६ सालको जनआन्दोलनका कमाण्डर स्वर्गिय नेता गणेशमान सिंहका छोरा प्रकाशमान विजयी भएका छन्।

उनले आफ्नो प्यानलका नेता सुशील कोइरालाले सभापतिमा हराएका भूतपूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको प्यानलबाट उठेका अर्का स्वर्गीय नेता महेन्द्रनारायण निधिका छोरा वर्तमान महामन्त्री बिमलेन्द्र निधिलाई चारसय भन्दा बढी मत अन्तरले परास्त गरेका हुन्।

कोषाध्यक्षमा देउवा समूहकी चित्रलेखा यादवले पद्म नारायण चौधरीलाई झण्डै डेढ सय मतले पछाडी पार्दै बाजी मारेकी छन्।

लगातार

दिउँसो शुरु भएको मत गणनामा सिंह र यादवले आफ्ना प्रतिष्पर्धीहरुलाई लगातार पछाडी पारेका थिए।

मतगणनासंगै सिंह र निधिबीचको भोट अन्तर बढ्दै गएको थियो। तर कोषाध्यक्षको प्रतिष्पर्धीमा यादव र चौधरी झिनो अन्तरमा थिए।

गणना दुई हजारबाट उकालो लागेपछि मतान्तर बढेर यादवको सम्भावना बढ्दै गएको थियो।

चौधरी र यादव दुबै सिरहाका हुन्।

सभापतिका प्रत्यासी भीमबहादुर तामाङ् जस्तै उनको समूहबाट महामन्त्रीमा उठेका नरहरी आचार्य पनि आफ्ना प्रतिष्पर्धीभन्दा निकै पछाडी देखिए।

मंगलवार मध्यरातबाट शुरु भई विहान करिव साढे तीन बजे आएको सभापतिको मत परिणामबाट पार्टीको बागडोर सुशील कोइरालाको हातमा पुगेको छ।

उनले प्रतिष्पर्धी देउवाभन्दा ३३५ बढी भोट ल्याएर जितेका हुन्। अर्का प्रतिष्पर्धी तामाङ्ले ७८ भोटमै चित्त बुझाउनु पर्‍यो।

अस्पताल

अस्वस्थताले गर्दा चुनावी प्रचारमा समेत सक्रिय हुन नसकेका कोइराला छातिको समस्याका कारण बुधवार विहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल भर्ना भएका छन्।

चुनावी परिणामपछि उनी र उनका पक्षधरले सबैलाई समेटेर पार्टीलाई थए एकतावद्ध बनाउने प्रतिकृया दिएका छन्। तर पराजय भोगेपछि देउवाको कुनै प्रतिकृया सार्वजनिक भएको छैन।

अब केन्द्रिय सदस्यको मत गणना गर्न बाँकी छ।

१२ औं महाधिवेशनबाट नेपाली कांग्रेसको नेतृत्व पार्टी संस्थापकपछिको पुस्तामा सरेको छ।

महिला, मुस्लीम, मधेशी, मधेसी महिला, जनजाती, जनजाती महिला अनि दलीत र दलीत महिलालाई आरक्षण कोटा छुट्याएर उनीहरुलाई केन्द्रिय समितिमा पुर्‍याउनुलाई महाधिवेशनको अर्को विशेषता ठानिएको छ।