प्रधानमन्त्रीका एक्ला उम्मेदवार पौडेल पराजित

  • 26 सेप्टेम्बर 2010
नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल
Image caption जित्ने सम्भावना नभएपनि चुनावबाट पछि नहट्ने पौडेलले बताएका छन्

संसदमा आइतबार भएको आठौं पटकको मतदान अगाडि माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिएपछि, चुनावी दौडमा एक्लै परेका नेपाली कांग्रेसका रामचन्द्र पौडेलले बहुमत जुटाउन सकेनन्।

उनीमात्रै उम्मेदवार रहने नवौं पटकको मतदान असोज १४ गतेको लागि सभामुख सुवास नेम्वाङ्गले तोकेका छन्।

सभामुखमाथि दबाब

“आठौं पटकको मतदानमा रामचन्द्र पौडेलको प्रस्तावले बहुमत प्राप्त गर्न नसकेपछि उक्त प्रस्ताव पुन निर्णयार्थ प्रस्तुत गर्न असोज १४ गतेको लागि तोकेको छु,” मतदानपछि बोल्दै सभामुख नेम्वाङ्गले भने।

सभामुखले पढेर सुनाएको निर्णय अप्रत्याशित थिएन।

तर गएका केही दिनयता लम्बिएको राजनीतिक गतिरोध तोड्न नयाँ प्रक्रिया थाल्न परेको दबाबलाई उनले अस्वीकार गरेको त्यो प्रष्ट संकेत थियो।

कतिपय कानुनवीदहरुले विशेष रुलिङ्ग गरेर यो प्रक्रिया तोड्न आग्रह गरिरहेका थिए भने दुई ठूला दल माओवादी र एमालेले त नयाँ प्रक्रिया थाल्न लिखित आग्रहनै गरेका थिए।

प्रचण्ड हटे

प्रचण्डले मैदान छाड्न गरेको निर्णय आइतबार संसदमा औपचारिक रुपमा पेश गरियो।

उनका प्रस्तावक बाबुराम भट्टराईले उनको उम्मेदवारी फिर्ता लिएको घोषणा गरे।

साथै रामचन्द्र पौडेललाई बाटो खोल्न पनि उनले आग्रह गरे।

“ऐतिहासिक आवश्यकताको बोध गर्दै राष्ट्रिय सहमतिको निम्ति रामचन्द्र पौडेलले पनि वातावरण बनाउनु हुनेछ भनेर हामी आशा गर्छौं,” भट्टराईले भने।

तर उनको आशा पूरा हुन सकेन।

उम्मेदवारी फिर्ता लिनु त परै जाओस् कांग्रेसले त्यसरी फिर्ता लिने प्रक्रियाको वैधानिकतामाथि नै प्रश्न उठायो।

“शुरुमै एकचोटि फिर्ता लिन समय दिइसकिएको थियो। त्यतिबेला फिर्ता नलिइकन, अहिले आएर प्रक्रियाको बीचमा फिर्ता लिन मिल्ने हो कि होइन भन्ने बारे नेपाली कांग्रेस स्पष्ट छैन। त्यसैले यो प्रक्रियामा हामी मौन बस्छौं,” कांग्रेसका प्रमुख सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताए।

नौलो व्यवस्था

माओवादी र कांग्रेस नेताबीचको घोचपेच सुनिरहेका सभामुखले पनि स्थिति जटिल भएको आफ्नो अनुभव संसदसंग साटे।

“प्रस्तावद्वारा प्रधानमन्त्री चयन गर्ने संसारमै नौलो व्यवस्था हामीले स्थापना गर्‍यौं। गणतन्त्र कार्यान्वयन भएर यत्तिका समय वितिसकेपनि त्यो व्यवस्था कायमनै छ,” सभामुखको भनाई थियो।

उनले भनेजस्तै संसारकै नौलो व्यवस्था परिवर्तन गर्न पनि पहिला मैदान खाली हुनुपर्ने जिकिर संसदका अधिकारीहरुको छ।

नेपाली कांग्रेसले नमानेसम्म त्यो बाटोपनि बन्दनै छ।

सम्बन्धित समाचार