पौडेलद्वारा एमाले-माओवादी सम्झौताको आलोचना

  • 2 अक्टोबर 2010
नेपाली कांग्रेसका नेताहरु
Image caption एमाले र माओवादीले आफुहरुलाई अनुचित दबाब दिएको कांग्रेसी नेताहरुले बताएका छन्

दुईवटा दल एमाले र माओवादी मिलेर गरेको सहमति शंकास्पद रहेको भन्दै नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेलले आफुले प्रधानमन्त्री दौडको मैदान छाडे राजनीति झन अन्धकारतर्फ लाग्ने बताएका छन्।

दुवै दलले प्रधानमन्त्रीको चुनावमा कसैलाई भोट नहाल्ने भनी गरेको उक्त सहमतिपछि माओवादी अध्यक्ष प्रचण्डले उम्मेदवारी फिर्ता लिएका थिए।

दबाब

नेपाली कांग्रेसको पछिल्लो अडानबारे जानकारी गराउन उक्त दलले शनिबार पत्रकार सम्मेलन आयोजना गर्‍यो।

नेपाली कांग्रेसको संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित उक्त सम्मेलनमा पौडेलको साथमा पार्टिका शीर्ष नेताहरु पनि उपस्थित थिए।

सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी एकिकृत माओवादीले हालै गरेको सहमतिले आफुहरु तीव्र दबाबमा परेको कुरा सरकारमै सहभागी दोस्रो ठूलो दल नेपाली कांग्रेसका नेताहरुमा स्पष्टै झल्कन्थ्यो।

त्यहाँ बोल्ने क्रममा नेता पौडेलले एमाले अध्यक्ष झलनाथ खनाल र माओवादी अध्यक्ष प्रचण्डले गरेको सहमतिलाई विशेष संझौताको संज्ञा दिए।

तीतो

दुईजना मिलेर कांग्रेसमाथि दबाब दिन खोजिएको आरोप लगाउँदै उनले खासगरी एमाले अध्यक्षप्रति नामै किटेर तीतो पोखे।

“एमाले अध्यक्ष खनालले राष्ट्रिय सहमति नभइ केही पनि हुँदैन भन्नुहुन्थ्यो। तर अहिले त खाली एमाले र माओवादी बीच मात्र सहमति भइराख्या छ। यो त राष्ट्रिय सहमति भएन। दुई जनाको मात्र सहमति कस्तो सहमति हो?” पौडेलको प्रश्न थियो।

नेपाली कांग्रेसलाई विश्वास नदिलाइकन गरिएको सहमतिको आधारमा आफुले उम्मेदवारी फिर्ता नलिने उनले बताए।

“जसरी प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामाले देशमा यत्रो अन्योल पार्‍यो, मेरो उम्मेदवारी फिर्ताले देश झन अन्धकारतर्फ लाग्नेछ।”

एक्लो दौड

मैदानमा एक्लै रहेपनि पौडेलले दुई पटक चुनाव भोगिसकेका छन्।

पछिल्लो पटकको मतदानको बेला माओवादी नेताहरुले सभामुख सुवास नेम्वाङ्गलाई विशेषाधिकार प्रयोग गरेर पौडेलको उम्मेदवारी खारेज गरिदिन माग गरेका थिए।

उक्त मागको तीव्र आलोचना गर्दै पौडेलले सभामुखसंग कुनै विशेषाधिकार नभएको जिकिर गरे।

“नियम, विधान र प्रक्रियाले नदिएको कुरा कसैले पनि जबरजस्ती गर्न हुँदैन,” उनको भनाई थियो।

नौ पटकसम्म असफल भइसकेको प्रधानमन्त्रीको चुनावी प्रक्रिया अब २० गते दशौं पटकको निम्ति तोकिएको छ।

एमाले र माओवादीले मैदान छाडेर हिंडिसकेको हुनाले अब दबाब एकातिर नेपाली कांग्रेसमाथि परेको छ भने अर्कोतिर निरन्तर असफल चुनाव गराइरहेको भन्दै सभामुखपनि एकथरीको आलोचनाका शिकार बनेका छन्।

सम्बन्धित समाचार