सहमति पछि नयाँ प्रक्रिया: साना दल

  • 3 अक्टोबर 2010
ram chandra paudel
Image caption साना दलले रामचन्द्र पौडेल एक्लै भएपनि उम्मेदवारी फिर्ता लिन नहुने बताएका छन्

संविधान सभामा प्रतिनिधित्व गर्ने केहि साना दलले सभामुख सुवास नेम्वाङसँग प्रधानमन्त्री चुन्ने जारी प्रकिया रद्द नगर्न आग्रह गरेका छन्।

एमाले र माओवादी लगायतका दलहरुको एउटा समुहले प्रधानमन्त्री चयनको वर्तमान प्रक्रिया रद्द गर्न सभामुखलाई दिएको दवावको जवाफको रुपमा नेपाली काँग्रेस लगायत अरु केही साना दल अगाडि सरेपछि सभामुख दोहोरो दवाबमा परेका छन्।

प्रधानमन्त्री चुन्न भएको नौ पटकको मतदान असफल भएपछि जारी प्रक्रिया रोक्नुपर्ने र रोक्न नहुने दुइवटा समुह खडा भएको छ।

एउटा समूहले सभामुखलाई विशेषाधिकार प्रयोग गर्न दवाब दिएको छ।

अर्को समुह त्यसो नगर्न भनिरहेको छ।

सहमति

पछिल्लो समूहका नेताहरुले आइतबार सभामुख नेम्वाङलाई भेटी आफ्नो कुरा राखेका छन्।

ती नेताहरुमध्ये एकजना राष्ट्रिय जनशक्ति पार्टीका सहअध्यक्ष प्रकाशचन्द्र लोहनी भन्छन्, “जेठ १४को लिखित सहमति नमानेका दलले मुखले फिर्ता लेउ भन्दैमा रामचन्द्रजीले फिर्ता लिन सक्ने स्थिति छैन, पहिले एउटा सहमति बनाउनुपर्छ अनि मात्र उम्मेदवारी फिर्ता लिन मिल्छ।”

तीन ठूला दलहरु सहमति जुटाउन असफल भएकाले २५सै दलबीचको बैठक मार्फत समाधान खोज्न जोड दिइएको साना दलहरुको भनाई छ।

खाका

आइतबार सभामुखलाई भेट्ने अर्का नेता नेकपा संयुक्तका अध्यक्ष चन्द्रदेव जोशी भन्छन्, पच्चीस दलको दायरामा समस्या समाधानलाई ल्याइयो भने समाधान खोज्न सजिलो हुनेछ।

सहमतिको खाका तयार पार्न केहि साता अघि साना दलका दुइ प्रतिनिधि सुनिल मानन्धर, प्रकाशचन्द्र लोहनी, एमालेका प्रदीप ज्ञवाली र कांग्रेसका कृष्ण सीटौलाको एउटा कार्यदल बनाइएको थियो।

कार्यदलले खाका तयार गरिसकेको दावी गर्दै नेता लोहनी भन्छन्, सबै दलले यसैमा छलफल गरेर अगाडि बढ्नुपर्छ।

बीबीसीकी काठमाडौंस्थित एकजना संवाददाता भन्छिन्, चेपुवामा परेका सभामुखले २५सै दलबीच छलफल गरेर सहमति कायम गर्न सके भने त त्यसले अहिलेको जटील राजनीतिक अवस्थालाई सहज बनाउन मदत गर्न सक्छ।

तर के उनी फलामको च्यूरा चपाउन सक्लान धेरैलाई शंका छ।