मतभेद सुल्झाउने कार्यदलको संयोजक माओवादी

  • 13 अक्टोबर 2010
maoist chairman prachanda
Image caption संविधानका मस्यौदमा रहेका मतभेद सुल्झाउन गठित कार्यदलका संयोजक

संविधानसभाका विषयगत समितिले तयार पारेका प्रतिवेदन मस्यौदाहरुमा रहेका मतभेद सुल्झाउने कार्यदलको संयोजक एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई बनाइएको छ।

मस्यौदा प्रतिवेदनमा रहेका मतभेद कम गर्दै लग्न भनेर सभामुखले सोमबार तीन प्रमुख दलका शीर्ष नेताहरु सहित सात सदस्यीय कार्यदल गठन गरेका थिए।

सभामुखकै कार्यकक्षमा बसेको बुधबारको बैठकमा प्रचण्डलाई संयोजक बनाउने प्रस्ताव भने समाजवादी प्रजातान्त्रिक जनता पार्टी नेपालका अध्यक्ष प्रेम बहादुर सिंहले गरेका थिए।

प्रस्ताव

सिंह भन्छन्, “संविधानसभाको सबैभन्दा ठूलो दल भएकाले र संविधान लेखनमा उनैको सबैभन्दा ठूलो भूमिका हुने भएकाले मैले प्रचण्डलाई संयोजक प्रस्ताव गरेको हुँ, सबैले एकमतले स्वीकारे।”

कार्यदलमा माओवादी अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल, नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे लगायतका सदस्य छन्।

संविधानसभाका विषयगत समितिले तयार पारेका प्रतिवेदनमा २०० भन्दा बढि मतभेद रहेको बताइन्छ।

ती मध्ये धेरैजसो चाहिँ सजिलै सुल्झाउन सकिने किसिमका रहेको प्रतिवेदन अध्ययन समितिका उपसंयोजक तथा नेपाली कांग्रेसका सभासद राधेश्याम अधिकारीले बताए।

मतभेद

तर मस्यौदाहरुमा राजनीतिक विचारधाराकै आधारमा देखिएका ठूल्ठूला मतभेद पनि छन्।

सभासद अधिकारीका अनुसार राष्ट्रपतीय प्रणाली कि संसदीय प्रणाली, स्वतन्त्र कि संसदको अन्तर्गतको न्यायपालिका, कस्तो संघीय प्रणाली जस्ता विषयमा गंभीर मतभेद छ।

अध्ययन समितिले मस्यौदा प्रतिवेदनमा रहेका २२० वटा मतभेदलाई प्रश्नाबलीका रुपमा तयार पारी केही समय अघि सभामुखलाई बुझाएको थियो।

सभामुखले मतभेद सुल्झाउन २७ दलको बैठक मार्फत सोमबार कार्यदल गठन गरेका थिए।

कार्यदलको बुधबारको बैठकपछि थप बैठकहरु डाक्ने र मतभेद कम गर्दै लैजाने जिम्मेवारी अब माओवादीको काँधमा आएको छ।