माओवादी सेना समायोजन प्रक्रियाको प्रगति सुस्त

  • 8 अक्टोबर 2010
अन्मिन कार्यालय
Image caption अन्मिन अहिले आफ्नो जिम्मेवारी र भूमिका टुङ्ग्याउन लागेको बताइन्छ

संयुक्त राष्ट्रसंघका उपमहासचिव बी लीन पास्कोले बिहिबार नेपालका दलहरुलाई आउने १०० दिनभित्र शान्ति प्रक्रियाका बाँकी कामहरु टुङ्ग्याउन आग्रह गरेको भएपनि माओवादी सेना समायोजन र पुन:स्थापना गर्ने प्रक्रिया अत्यन्त सुस्त गतिमा अघि बढिरहेको देखिएको छ।

नेपालको शान्ति प्रक्रियालाई सघाइ रहेको राष्ट्रसंघीय नियोग अन्मिन आउने जनवरी १५ पछि नेपाल छोड्ने तयारीमा छ।

तर माओवादी लडाकू सेना समायोजन र पुन:स्थापनाका लागि अत्यावश्यक कामहरु अझै भइसकेका छैनन्।

माओवादी सेनालाई, सेना समायोजन विशेष समितिको माताहतमा ल्याउने निर्णय भएको एक महिना पुग्न लागेको छ, तर त्यसनिम्ती आवश्यक सचिवालयले समेत पूर्णता पाइसकेको छैन।

अपूर्ण

बाह्रजना सदस्य रहने सो सचिवालयमा माओवादीको तर्फबाट सदस्य तोक्न र सचिवालयको संयोजक छान्ने काम बाँकी नै रहेको बताइएको छ।

त्यसैले माओवादी सेना अझैपनि औपचारिक रुपमा विशेष समितिको मातहातमा आइनसकेको सदस्यहरुले स्विकारेका छन्।

तर माओवादी सेनाका प्रमुख नन्दकिशोर पुन पासाङले नयाँ सरकार नबनेको अहिलेको अवस्था नै माओवादी सेना समायोजन र पुन:स्थापना प्रक्रियाको प्रमुख बाधक भएको बताए।

“नयाँ सरकार बनेपछि विशेष समितिलाई कामहरु अघि बढाउन सजिलो हुन्छ।”

‘बाँकी’

झण्डै चार वर्षदेखि माओवादी सेना देशका विभिन्न स्थानमा बनाइएका क्यान्टोनमेन्टहरुमा बसिरहेका छन्।

राष्ट्रसंघले उन्नाइसहजार छ सय दुई जनालाई योग्य भनि प्रमाणीकरण गरेको थियो।

विशेष समितिका एकजना सदस्य डाक्टर राम शरण महतका अनुसार छलफल चलिरहेको भएपनि समायोजन र पुन:स्थापनाको प्रारुपबारे समेत सहमति हुन बाँकी छ।

“हामी छलफल गर्दैछौं तर धेरै कुरामा सहमति गर्न बाँकी छ।”

‘असी दिन’

प्राविधीक समितिका एकजना सदस्य दिपक प्रकाश भट्टले समायोजन र पुन:स्थापनाबारे दलहरु प्रष्ट हुनुपर्नेमा जोड दिए।

“अन्मिन फर्कनुअघि अब मात्र ८० (काम गर्ने) दिन बाँकी छ, त्यसैले दलहरु थप प्रष्ट हुनु पर्छ।”

आफ्नो जिम्मेवारी र भूमिका टुङ्ग्याउन लागेको भनिएको अन्मिनले भने माओवादी सेनाका व्यक्तिगत विवरणहरु शान्ति मन्त्रालयलाई दिने प्रक्रिया शुरु गरेको बताइएको छ।