नयाँ संविधानका विवाद समाधान गर्न छलफल शुरु

  • 14 अक्टोबर 2010
प्रचण्ड
Image caption प्रचण्ड संयोजक चुनिएको भोलिपल्ट उच्चस्तरीय समितिको वैठक बसेको हो

नयाँ संविधानका विवादहरु समाधान गर्न गठित उच्चस्तरिय समितिमा मतभेदहरु पन्छाउन महत्वपूर्ण सहमति भएको नेताहरुले बताएका छन्।

संविधान निर्माणले गति लिन नसकेकोप्रति चिन्ताहरु बढिरहेको बेला बुधबार मात्रै माओवादी अध्यक्ष प्रचण्ड सो उच्चस्तरीय समितिका संयोजक चुनिएका थिए।

त्यस लगत्तै बिहिबारको वैठकमा संविधानका आधारभूत सिद्धान्तहरुमाथि छलफल भएको नेताहरुको भनाई छ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई संविधान निर्माणमा देखिएका विवाद समाधान गर्ने जिम्मेवारी पाएको उच्चस्तरिय समितिको संयोजक बनाइएको भोलिपल्ट नै, सो समितिले छलफल थालेको हो।

‘सहमति’

बिहिबारको वैठकमा संविधानका आधारभूत सिद्धान्तहरुमाथि छलफल भएको प्रचण्डले संवाददाताहरुलाई बताए।

“सबै विवादित विषयहरुलाई छलफल गरेर टुङ्ग्याउदै जानुपर्छ भन्ने कुरामा हामीबीच सैद्धान्तिक सहमति भएको छ।”

निकै सुस्त गतिमा बन्दै गरेको नयाँ संविधानमा २२० वटा विषयहरुमाथि विवाद रहेको बताइन्छ।

शासकीय स्वरुप, राज्यको पुन:संरचना र न्यायपालिकाका विषयमा प्रमुख दलहरुबीच गम्भीर मतभेद रहेका छन्।

सभामुख सुवास नेम्वाङ र प्रमुख दलहरुका शीर्ष नेताहरु सहभागी बिहिबारको वैठकबाट बाहिरिएका नेपाली कांग्रेसका नेता राम चन्द्र पौडेलले नयाँ संविधानका सिद्धान्तहरुमाथि मोटामोटी छलफल भएको बताए।

आशंकाहरु

“अब अर्को वैठकमा अन्य विषयहरुमाथि छलफल गर्दै अघि बढ्ने कुरा भएको छ।”

पटक पटक संशोधित संविधान निर्माण कार्यतालिका अनुसार कार्तिक मशान्त भित्रै नयाँ संविधानको एकीकृत मस्यौदा तयार भइसक्नु पर्नेछ।

तर संविधान निर्माण प्रक्रिया सहजरुपमा अघि बढने कुरामा आशंकाहरु कायमै छन्।