दलहरुलाई चाँडो सहमति गर्न पास्कोद्वारा आव्हान

  • 15 अक्टोबर 2010
संयुक्त राष्ट्रसंघ
Image caption अन्मिनको म्याद सकिएपनि राष्ट्रसंघले शान्ति प्रक्रियामा सहकार्य जारी राख्ने बताएको छ

हालै नेपाल आएर दलका नेताहरुसंग छलफल गरी न्यूयोर्क फर्किएका पास्कोले राष्ट्रसंघको सुरक्षा परिषद सामु आफ्नो भ्रमणको प्रतिवेदन प्रस्तुत गर्दै दलहरुलाई शान्ति प्रक्रियालाई सफल पार्न चाँडो निर्णय लिन आव्हान गरे।

दलहरुले आफ्ना मतभिन्नताहरुलाई सल्टाउन नसके उनीहरुसंगै नेपाली जनताले पनि त्यसको मूल्य चुकाउनु पर्ने चेतावनी उनले दिएका थिए।

आगामी पुस मसान्तमा राष्ट्र संघीय निकाय अन्मिनको म्याद सकाउने गरी नेपाली दलहरुले गरेको सिफारिसको आधारमा सुरक्षा परिषदले निर्णय गरे पश्चात नेपालले त्यतिञ्जेल शान्ति प्रक्रिया टुंग्याइसक्ला कि नसक्ला भन्ने बुझ्न महासचिव बान कि मुनले पास्कोलाई खटाएका थिए।

शंका

नेपालका विभिन्न दल र नेताहरुसंगको छलफलको आधारमा सुरक्षा परिषदलाई जानकारी दिने क्रममा पास्को उति उत्साही सुनिएनन्।

खासगरी सरकार गठनमा देखिएको शक्ति बाँडफाँडको विवाद र संविधान निर्माणमा देखिएका व्यवधानहरुका कारण पुस मसान्त भित्रै सबै कुरा मिलिसक्नेमा उनको शंका थियो।

“सहमतीय सरकार गठन वा समायोजन र पुनर्स्थापनासम्बन्धी प्रमुख मुद्दाहरुमा प्रगति भएमा यसले समाधानको दिशातर्फ महत्वपूर्ण गति प्रदान गर्न सक्थ्यो,” उनले बताए।

माओवादी सेना समायोजन र पुनर्स्थापनाको सन्दर्भमा विशेषगरी समायोजनको संख्या तथा मापदण्ड जस्ता आधारभूत कुराहरु नसुल्टिएसम्म अगाडि बढ्न गाह्रो हुने उनको निचोड थियो।

पास्कोले नेपालमा अहिलेको चाडपर्वको छुट्टी सकिए लगत्तै कार्तिक मसान्तसम्म राजनीतिक निकास निस्कने कुरा आफूलाई नेताहरुले बताएको सुनाएका थिए।

उपमहासचिवले आफ्नो फिर्तीलाई सहज तुल्याउन अन्मिनले दलहरूसँगको सहकार्यलाई जारी राख्ने बताए।

पुस मसान्तमा अन्मिन फर्किएपछि नेपालको शान्ति प्रक्रियामा शून्यता छाउने एकथरीको चिन्तालाई समाधान गर्ने प्रयास गर्दै उनले त्यसपछि पनि संयुक्त राष्ट्रसंघले नेपालसँगको सहकार्य जारी राख्ने बताए।

सम्बन्धित समाचार