संसदमा बजेट पेश गर्ने समय मिलाइदिन आग्रह

  • 25 अक्टोबर 2010
अर्थ मन्त्रालय
Image caption पेश्कि बजेट बमोजिम एक महिनाको तलबभत्ता दिनपनि सरकारसंग पर्याप्त पैसा छैन

पेश्कि बजेटले दिएको खर्च सीमा सकिन थालेपछि आत्तिएको सरकारले जसरीपनि यही महिनाभित्र बजेट ल्याउने व्यवस्था मिलाइदिन सभामुखसंग आग्रह गरेको छ।

प्रमुख प्रतिपक्षी माओवादीले कामचलाउ सरकारलाई बजेट नल्याउन खबरदारी गरेपनि तलबै दिन नसक्ने अवस्था आएको भन्दै सरकारले सोमबार सभामुखसंग सहयोग मागेको हो।

पेश्कि बजेटले गत वर्षको एक तिहाईमात्रै खर्च गर्ने अनुमति दिएको हुनाले कार्तिकदेखि सरकारसंग तलब भत्ता दिन समेत पैसा अपुग भएको उसले बताएको छ।

बेलिविस्तार

सभामुख सुवास नेम्वाङ्ग एक सातालामो क्यानाडा भ्रमणबाट फर्किएर काठमाण्डौं ओर्लिएको केही घण्टाभित्रै सचिवहरुको साथ लागेर अर्थमन्त्री सुरेन्द्र पाण्डे उनको कार्यकक्ष पुगेका थिए।

त्यहाँ पुगेर मन्त्रीले तीन महिनादेखि बजेट आउन नसकेबाट उत्पन्न आर्थिक समस्याको बेलिविस्तार मात्रै लगाएनन्, यही महिनाभित्र जसरी भएपनि पूर्ण बजेट पारित गराउन संसदमा व्यवस्था मिलाइदिन गुहारपनि मागे।

भेटपछि पत्रकारहरुसंग बोल्दै अर्थ मन्त्री पाण्डेले भने, “छिटोभन्दा छिटो पूर्ण आकारको बजेट प्रस्तुत गर्नको निम्ति समय उपलब्ध गराइदिन मैले सभामुखसंग आग्रह गरें। कार्तिक महिनाभित्र बजेट पारित गराउन नसके खर्च अगाडि बढ्न सक्दैन।”

उत्साहित

अर्थ मन्त्रीको गुहारपछि सभामुख नेम्वाङ्गले मंगलबार संसदको कार्यव्यवस्था समितिको बैठक डाकेर बजेटको गाँठो फुकाउन पहल गर्ने आश्वासन दिए।

ती आश्वासनबाट अर्थ मन्त्रालयका अधिकारीहरु केही उत्साहित भएका छन्।

“हामी पूर्ण तयारीको अवस्थामा छौं। फलानो दिन संसदमा पेश गर भन्ने निर्देशन आउनासाथ हामी त्यसो गर्न सक्छौं,” भेटमा उपस्थित प्रमुख आर्थिक सल्लाहकार केशव आचार्यले बताए।

असारको मसान्तमा सरकारले ल्याएको पेश्कि बजेटमार्फत करीब ५० अर्ब रुपियाँसम्म मात्र खर्च गर्ने सीमा सरकारले पाएको थियो।

असोज मसान्तसम्ममा ४० अर्ब रुपियाँ भन्दा बढि खर्च भइसकेको छ।

एक महिनाको तलब भत्ताकै लागि करीब १५ अर्ब रुपियाँ खर्च लाग्ने सरकारलाई कार्तिकभित्र बजेट ल्याएर पारित गराउन नसके तलब भत्ता दिनपनि कठिन पर्नेछ।

तर कार्तिकभित्र बजेट पारित गराउन अत्यावश्यक हुने प्रतिपक्षी माओवादीको सहयोग अहिलेसम्म निश्चित नहुँदा अन्योल कायमनै छ।

सम्बन्धित समाचार