प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता हुँदैन: नेपाली कांग्रेस

  • 28 अक्टोबर 2010
रामचन्द्र पौडेल
Image caption रामचन्द्र पौडेल शुक्रवार प्रधानमन्त्रीको चुनावमा चौधौं पटक एक्लै सहभागी हुँदैछन्

प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन अन्य दलहरुले गरिरहेको आग्रह नेपाली कांग्रेसले अस्वीकार गरेको छ।

नयाँ केन्द्रिय समितिको पहिलो बैठकको पहिलो दिनको छलफलपछि कांग्रेसले त्यस्तो अडान दोहर्‍याएको हो।

महाधिवेशन सकिएको महिना दिनपछि भएको नयाँ कार्यसमितिको पहिलो बैठक औपचारिकतामा मात्र सीमित थियो।

तर नवनिर्वाचित सभापति सुशील कोइरालाले राजनीतिक गतिरोधका विषयमा बैठकमा पार्टीको आधिकारिक धारणा पेश गर्ने क्रममा त्यस्तो अडान राखेका थिए।

कांग्रेस नेता अर्जुन नरसिंह केसीले भने, “उम्मेदवारी फिर्ता मात्रै समस्याको समाधान होइन। त्यसैले विकल्प बिहिन अवस्थामा उम्मेदवारी फिर्ता लिने कुरा हुनसक्दैन।”

नयाँ बिकल्प

आफू निर्वाचित हुने स्थिति नदेखेपछि उम्मेदवारी फिर्ता लिएको माओवादी र पहिलो चुनावबाटै मैदान छाडेको नेकपा एमालेले कांग्रेसलाई पनि उम्मेदवारी फिर्ता लिन आग्रह गरिरहेका छन्।

तर कांग्रेसको अडानका कारण प्रधानमन्त्री छान्ने चौंधौं प्रयास व्यवस्थापिका संसदमा हुने भएको छ।

उम्मेदवारी फिर्ता गर्नुअघि शान्ति प्रकृया र नयाँ संविधान लेखनमा देखा परेका असमझदारी लगायतका विषयमा केन्द्रित आफूले पेश गरेको चार बुँदे लिखित अवधारणामा सहमति जुटनु पर्ने उसको धारणा छ।

तर जारी बैठकमा गतिरोध निकासको अन्य विकल्प पनि खोजि गरिने कांग्रेस नेता केसीको भनाइ छ।

उनले भने, “अन्य विकल्प पनि केही छन् भने हामी त्यसबारे पनि खुला छलफल गर्छौं। तर अहिले हामी छलफलकै क्रममा छौं।”

नवनिर्वाचित कांग्रेस नेतृत्वले केही पदाधिकारी र केन्द्रिय सदस्य मनोनित गरी बैठकबाट अनुमोदन गराएर कार्यसमितिलाई पनि पूर्णता दिनु पर्ने छ।

तर महिना दिनपछि बल्ल साईत जुरेको कांग्रेसको पहिलो बैठकले नै त्यसको टुंगो लगाउने सम्भावना नरहेको बताइएको छ।