तीन दलको बैठक सहमति जुटाउन विफल

  • 2 नोभेम्बर 2010
प्रधानमन्त्री नेपाल
Image caption सहमति जुटाउन प्रधानमन्त्रीले आग्रह गरेपनि त्यसो हुन सकेको छैन

लामो राजनीतिक गतिरोध, बजेट संकट आदिबारे सहमति जुटाउन मंगलबार बसेको तीन दलको बैठक बिना कुनै निश्कर्ष टुङ्गिएको छ।

प्रधानमन्त्री माधवकुमार नेपालले डाकेको सो बैठकमा नेपाली कांग्रेसका शीर्षस्थ नेताहरु भने उपस्थित थिएनन्।

बैठकका एकजना सहभागी तथा नेपाली कांग्रेसका नेता डा रामशरण महतले पार्टी सभापति सुशील कोइराला बिरामी रहेको र कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल संसदीय दलको बैठकमा व्यस्त रहेकाले प्रधानमन्त्रीले डाकेको बैठकमा उपस्थित हुन नसकेकेा बताए।

बुधबार बस्ने भनिएको बैठकमा पनि सहमतिको खोजी जारी रहने नेताहरुले जनाएका छन्।

सिंहदरबारमा बसेको तीन दलको बैठकपछि देशले सामना गरिरहेका यावत संकटहरु समाधान गर्ने दिशामा केही प्रगति हुने अपेक्षा कतिपयको थियो।

अनुपस्थित

बैठकपछि संवाददाताहरुसँग बोल्दै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, “राजनीतिक गतिरोध तोड्ने विषयमा सामान्य छलफल मात्र भयो।”

सो बैठकमा एकीकृत माओवादी र नेकपा एमालेका शीर्षस्थ नेताहरु उपस्थित थिए।

विषयहरु

नेताहरुका अनुसार तीन दलको सो वैठकमा राजनीतिक गतिरोध तोड्ने, बजेट ल्याउने, माओवादी सेनाको पुन:स्थापना र समायोजन कार्य अघि बढाउने जिम्मा पाएको सेना समायोजन विशेष समितिलाई क्रियाशील बनाउने लगायतका विषयमा छलफल हुने कार्यक्रम थियो।

सोही वैठकमा लामो समयदेखि रिक्त रहेका संवैधानिक अंगहरुका प्रमुखहरु नियुक्त गर्ने विषयमा समेत छलफल हुने बताइएको थियो।

वैठकमा प्रधानमन्त्रीले सरकार र बजेटबारेको संकट तोड्नको निम्ती सहमति जुटाउन प्रमुख दलहरुलाई आग्रह गरेका थिए।

तीनै पक्षका शीर्षस्थ नेताहरु अनुपस्थित रहेकाले सो बैठक फेरि बस्ने जानकारी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले दिए।

“बजेटका बारेमा केही छलफल भयो अब संभवत बुधबार थप छलफल हुन्छ।”

‘प्याकेज’

बजेट ल्याउने र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक अंगहरुका प्रमुखहरुको नियुक्ती गर्ने जस्ता कार्य कामचलाउ सरकारले गर्न नहुने अडान प्रमुख प्रतिपक्षी एकीकृत माओवादीको छ।

तर नेताहरुले बारम्बार सहमतिमा जोड दिए पनि प्रमुख दलहरुले आ-आफ्ना अडान त्याग्ने भरपर्दो संकेत अझै देखिएको छैन।