तीन दलका शीर्ष नेताहरुको बैठक फेरि निश्कर्षहीन

  • 3 नोभेम्बर 2010
प्रचण्ड र प्रधानमन्त्री नेपाल
Image caption तीन दलबीच सहमति बनाउने प्रधानमन्त्रीको प्रयास फलदायी हुन सकेको छैन

एकीकृत माओवादीले राजनीतिक गतिरोध तोड्ने विषयमा पहिला सहमति हुनु पर्ने अडान राखेपछि बजेट र अन्य संकट समाधानबारे सहमति जुटाउन बसेको तीन दलका शीर्ष नेताहरुको बैठक पुन: निश्कर्षविहीन भएको छ।

प्रधानमन्त्रीले डाकेको सो बैठकमा कुनै ठोस सहमति नभएपनि माओवादी अध्यक्ष प्रचण्डले गतिरोध तोड्नको निम्ति गम्भीर भएर पहल गर्ने सहमति भएको बताएका छन्।

नयाँ सरकार, बजेट र देश सामु टड्कारो भएका अन्य संकट समाधानको दिशामा केही प्रगति हुने अपेक्षा गरिएको भएपनि तीन दलका शीर्ष नेताहरुको बुधबारको बैठकले कुनै शुभ समाचार दिएन।

सिंहदरबारमा बसेको सो बैठकमा प्रधानमन्त्रीले बजेट ल्याउने, संवैधानिक अंगहरुमा नियुक्ती गर्ने लगायतका विषयमा सहमतिको आवश्यकतामा पुन: जोड दिएको बताइएको छ।

अडान

तर प्रमुख प्रतिपक्षी दल एकीकृत माओवादीले सबैभन्दा पहिले राजनीतिक गतिरोध तोडिनु पर्ने अडान राखेको थियो।

बैठकपछि संवाददाताहरुमाझ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, “राजनीतिक गतिरोध तोड्ने विषय प्रमुख हो, त्यस्मा सहमति हुन सकेमा अन्य विषयमा सहमति भइहाल्छ।”

एकीकृत माओवादी सहमतिको निम्ति लचिलो देखिएको बताउदै नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले थप छलफलपछि कुनै सहमति हुने आशा व्यक्त गरे।

“थप छलफल गरेर सहमति निकाल्ने सहमति भएको छ।”

संकट

कार्तिक महिना भित्रमा बजेट नल्याए देश गम्भीर आर्थिक संकटमा पर्ने सरकारको भनाई छ।

प्रमुख प्रतिपक्षी एकीकृत माओवादीले भने बजेटको वैकल्पिक व्यवस्था गर्न सकिने, तर कामचलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने अडान राख्दै आएको छ।

कामचलाउ सरकारले संवैधानिक निकायहरुमा नियुक्ति गर्ने प्रस्तावको समेत माओवादीले तीब्र विरोध गरिरहेको छ।

प्रधानमन्त्रीको निश्कर्षहीन चुनावी मैदानमा एक्लो बन्न पुगेको नेपाली कांग्रेसले भने शान्ति प्रक्रियाका बाँकी काम सक्नको निम्ति एकीकृत माओवादीले प्याकेजमा सहमति गर्न राजी हुनु पर्ने माग गरिरहेको छ।

त्यस्तो हुन सकेमा माओवादी नेतृत्वको नयाँ सरकार पनि आफूलाई स्वीकार्य हुने नेपाली कांग्रेसका नेताहरुले बताउंदै आएका छन्।